पु.समाचार

प्रधानमन्त्री देउवालाई भारतीय नेताहरुले दिए यस्तो सुझाव !

नयाँ दिल्ली । भारतका विभिन्न राजनीतिक दलका नेताले आसन्न निर्वाचनमार्फत नेपालमा लोकतन्त्र सुदृढ होस् भन्ने शुभकामना दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहान राष्ट्रपतिभवनमा खाजासहितको भेटवार्तामा उनीहरूले नेपालको शान्ति र स्थिरताका लागि भारतबाट हरसम्भव सहयोग हुने बताएका हुन् ।

संविधान संशोधनमार्फत सबैलाई लिएर जाने देउवाको प्रयासलाई सराहना गरेका उनीहरूले प्रान्त र केन्द्रीय संसद्को निर्वाचनपछि धेरै समस्या समाधान हुने विश्वाससमेत गरेका छन् ।

प्रधानमन्त्री हैदराबाद जानुअघि शुक्रबार बिहान भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादव, सोही दलका उपाध्यक्ष केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरिया, सांसद डिपी त्रिपाठी, राष्ट्रिय स्वयंसेवक संघका नेता इन्द्रेस कुमारले सामूहिक भेटवार्ता गरेका थिए ।

येंचुरीले लोकतान्त्रिक आन्दोलनमा सहभागी सबै दलबीच साझा समझदारी बनाएर लोकतन्त्र संस्थागत गर्नुपर्ने सुझाब दिएका थिए । दोस्रो जनआन्दोलनका समर्थक तथा दिल्लीमा भएको १२बुँदे समझदारीका सूत्रधारमध्येका एक येंचुरीले कांग्रेस, एमाले, माओवादीसहित परिवर्तनकारी दलहरू लोकतन्त्र संस्थागत गर्न एउटै ठाउँमा उभिनुपर्ने सुझाब दिएका हुन् । यसमा देउवाले सहमति जनाउँदै सक्दो प्रयास आफूले गरिरहेको बताएका थिए ।

शनिबारका पत्रपकिामा लेखिएको छ,  इन्द्रेसले नेपालमा बढिरहेको धर्मान्तरणमा चासो राखेका थिए । उनले नेपाल र भारतबीच जनस्तरको सम्बन्धलाई विकास र समृद्धिमा बदल्नुपर्ने पनि बताएका थिए ।