राजनीति

नेपालको संसदले गरेको फैसलालाई प्रधानमन्त्रीले विदेशमा गएर धज्जी उडाए : ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु लज्जाको विषय भएको बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले देउवाले दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोपसमेत लगाएका छन् ।
भर्खरै संविधान संशोधनको विषयमा नेपालको संसदले गरेको फैसलालाई प्रधानमन्त्रीले विदेशमा गएर धज्जी उडाएको अध्यक्ष ओलीको आरोप थियो ।
हिजो बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु आपत्तिजनक भएको अध्यक्ष ओलीको ठहर छ ।

अध्यक्ष ओलीलाई बिदाइ गर्न उपाध्यक्ष वामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी यही भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ । उनका साथमा धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य गएका छन् ।