राजनीति

सातै प्रदेशमा विपत् व्यवस्थापनको विशेष व्यवस्था गरिने : मन्त्री गौतम

भद्रपुर । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले मुलुकमा हालै अविरल वर्षा र बाढीका कारण भएको जनधनको क्षतिप्रति सरकार गम्भीर भएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखको बैठकमा उनले सो कुरा बताएका हुन् । विपत् व्यवस्थापनमा राज्य कमजोर रहेको प्रसंग उल्लेख गर्दै अब सरकारले सातवटै प्रदेशमा विपत् व्यवस्थापनका लागि विशेष व्यवस्था गर्ने तयारीमा रहेको जानकारी दिए ।

विपत्मा परेका नागरिकलाई उद्धार एवं राहतमा खटिने सबै निकायलाई धन्यवाद दिंदै मन्त्री गौतमले सिँचाइ क्षेत्रमा देशभरमा लगभग रु २० अर्ब बराबरको धनमाल क्षति भएकाले सरकारसँग भएका साधन र स्रोतको उच्चतम प्रयोग गरी बाढी र अविरल वर्षाबाट क्षति भएको संरचनालाई निर्माण गरिनेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले साउन २७ गतेदेखि २९ सम्मको अविरल वर्षा र बाढीका कारण झापामा १६ जनाले ज्यान गुमाएको, दुईजना बेपत्ता भएको, दुई हजार ४२५ परिवार प्रभावित, दुई हजार ४४४ परिवार विस्थापित, ६४४ घर पूर्णरुपमा ध्वस्त, एक हजार ५४१ घरमा आंशिक क्षति र ५० वटा घर उच्च जोखिममा रहेको जानकारी दिए ।

उनले बाढी र वर्षाबाट कृषि क्षेत्रमा रु एक अर्ब ६ करोड बराबरको क्षति भएकामा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय अन्तर्गतको ‘सिँचाइ जनताको तटबन्ध कार्यक्रम’मा रु दुई अर्ब १५ करोड बराबरको क्षति भएको विवरण प्रस्तुत गरे ।

सिँचाइमन्त्री गौतमले आजै रतुवा नदीमा आएको बाढी र कटान भएको क्षेत्र गौरादह नगरपालिका– ६ दुवाटोली र कमल गाउँपालिका अन्तर्गत झर्का भन्ने स्थानको निरीक्षण गरे ।

सो अवरमा गौरदह नगरपालिकाका प्रमुख रोहित साहले रतुवा नदीबाट भएको क्षति र नदी नियन्त्रण गर्न स्थानीय जनताको तर्फबाट एक ज्ञापनपत्र पनि बुझाएका थिए ।