समाचार

विपत व्यवस्थापनको दीर्घकालिन तयारीमा सरकार :गृहमन्त्री

काठमाण्डौ । सरकारले बाढी, पहिरो पीडितको राहत, उद्धार र पुनर्वासको उचित व्यवस्थापनका लागि दीर्घकालिन योजना ल्याउने जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्माले पीडितको राहत, उद्धार र पुनर्वासको उचित व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री शर्माले पीडितलाई राहत, उद्धार र पुनर्वासको व्यवस्था गर्न सरकार अहोरात्र खटिरहेको पनि स्पष्ट पारे । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री शर्माले सरकारले आफ्नो क्षमता अनुसार सक्दो प्रयास गरिरहेको पनि बताए ।

बाढी र डुबान पीडितको उचित व्यवस्थापन गर्न सरकारले व्यापक सुरक्षाकर्मी परिचालन गरेको पनि उल्लेख गर्दै मन्त्री शर्माले ठूलो प्राकृतिक विपत्ति आइपरेकाले त्यसलाई समयमै व्यवस्थापन गर्न राज्यको स्रोत र साधनले धान्न नसकेको पनि स्पष्टिकरण दिए ।

गृहमन्त्री शर्माले विपद् व्यवस्थापन गर्न सरकार जिम्मेवार रहेको पनि भन्दै त्यसका लागि सरकार दीर्घकालीन योजना बनाउन लागि परेको बताए ।

तर बाढी, पहिरो पीडितलाई राहत उपलब्ध गराउन नसकेको भन्दै सरकारको भने सर्वत्र आलोचना भइरहेको छ ।