राजनीति

राजपाको चुनाबी तयारी आजदेखि शुरु : कस्तो छ त चुनाबी रणनीति

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले हिजो चुनाबमा जाने निर्णय सार्वजनिक गरेसंगै आजदेखि त्यसका लागि तयारी शुरु गर्दैछ ।

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि आजदेखि उम्मेदवार चयनको काम शुरु गर्ने सो पार्टीले जनाएको छ । हिजो सकिएको पदाधिकारी बैठकको निर्णय अनुसार १३ गतेसम्म सर्वसहमत उम्मेवार चयन नभएका ठाउँमा अध्यक्ष मण्डलले टुंग्याउने नेता राजेन्द्र महतोले बताएका छन् ।

राजपाले उठाउँदै आएको संविधान संशोधन विधेयक संसदबाट पास हुन नसकेपछि अन्ततः चुनाबमा जाने भएको हो । अहिले चुनाबमा पनि उसले यही संशोधनको मुद्दालाई मुख्य रुपमा आफ्नो एजेण्डा बनाउँने रणनीति बनाएको छ ।

राजपाले उम्मेद्वार चयनका लागि ८ जिल्लामा केन्द्रीय स्तरका नेता नै खटाउने तयारी गरेको छ । अध्यक्ष ठाकुरका अनुसार उम्मेदवार चयनका लागि सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, महोत्तरीमा गोविन्द चौधरी, धनुषामा अरुण सिंह, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राना थारु र पर्सामा विजय गुप्तालाई खटाइएको छ ।

राजपाले स्थानीय चुनावमा साइकल चिन्ह लिने भएको छ । छाता चुनाव चिह्न पाउनुपर्ने माग राख्दै आए पनि निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाले तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीको साइकल चिन्ह लिएर चुनावमा जाने भएको हो ।