समाचार

पचासी वर्ष पार गरेका वृद्धवृद्धाहरुलाई सम्मान

पर्वत । कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धलाई सम्मान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमबीच ८५ वर्ष उमेर पार गरेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गरे । उनले सम्मान कार्यक्रममा वृद्धलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकका रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभावकारी हुने बताए ।

आफ्ना बाबुआमालाई सम्मान गरेर आफूलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए । उनले राज्य पुनःसंरचनापछि स्थानीय तहमा अधिकार आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभव हुँदै जाने बताए ।

कार्यक्रममा नेकपा (एमाले) पर्वतका उपसचिव गोविन्द पहाडीले कुस्मा नगरपालिकाको मुहार कायापलट गर्न जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताउँदै एमालेका जनप्रतिनिधि अरूभन्दा उदाहरणीय हुन आग्रह गरे ।

प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वृद्ध सम्मान जस्तै नागरिकका हरेक सुख–दुःखमा साथ दिन आग्रह गरे । उनले पञ्चकोशी माविमा शुरु गरिएको बालमैत्री शिक्षण विधिलाई सबै वडामा लैजान जनप्रतिनिधिलाई आग्रह गरे ।

उक्त कार्यक्रममा कुस्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफूमा निहित गर्ने र निरङ्कुश बन्ने मनसाय राखेका कारण सबै विकास निर्माणका काम अवरुद्ध हुन पुगेको बताए ।