स्वास्थ्य

सप्तरीमा बाढीका कारण ७ हजार भन्दा धेरै कुपोषणको शिकार, ६ सय १२ जनाको अवस्था गम्भिर !

सप्तरी । हालै आएको भीषण बाढीका कारण सप्तरीमा ७ हजार दुई सय भन्दा धेरैलाई कुपोषण भएको छ । बाढीका कारण खाद्यान्न र पौष्टिक आहारको कमी भएका कारण जिल्लामा कुपोषण लाग्नेको संख्या धेरै भएको हो ।

बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध कम दिने गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ७ हजार भन्दा बढी कुपोषण भएकामा ६ सय १२ जना गम्भीर कुपोषणको शिकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गरिएको सर्वेक्षण अनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ ।

प्राप्त सर्वेक्षण अनुसार दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनिया लगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषणका रोगी पाइएको छ । खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी र पौष्टिक आहार र गुणस्तरीय खाद्यन्नबाट वञ्चित हँुदा सो रोगको समस्या देखिएको हो ।

बाढीपीडितका लागि सरकारी तथा गैरसरकारी तर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ । सप्तरीका बाढीपीडितको खाद्य सुरक्षा सम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराएका हुन् ।