समाचार

प्रसूतिको जोखिम : यसरी पार पाइन् सुत्केरी व्यथा लागेकी तारा लुवागुनले

पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथर पुर्याउँदा ज्यान बचेको छ ।

स्थानीय २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौलाले जोखिममा सुत्केरी गराइरहेको थाहा पाएपछि जिल्ला अस्पताल पुर्याएका हुन् । संग्रौला आफ्नो खेतमा पानी लगाउन गएको बेला छिमेकीको घरमा मानिसको होहल्ला सुनेपछि उनी त्यहाँ पुगेका थिए ।

त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनी चकित पर्दै यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि सङ्ग्रौलाले उनलाई यसरी त आमा र बच्चको ज्यान जोखिममा पर्न सक्छ भन्दै तुरुन्तै जिल्ला अस्पताल लैजान सहयोग गरेपछि लुवागुनले अस्पतालमा बच्चालाई स्वभाविक रुपमा जन्माएकी अस्पतालले जनाएको छ ।

नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायाँै ? भन्दै स्थानीय महिलाहरुले घरमै बच्चा जन्मिन्छ भनेको उनी बताउँछिन् ।

आर्थिक अवस्था कमजोर भएकाले र परिवारका अन्य सदस्य अपाङग भएकाले पनि उनले घरैमा बच्चा जन्माउँने आँट गरेकी हुन् । उनलाई छिमेकी लयप्रसाद संग्रौलाको पहलमा यतिबेला अस्पताललगायत अन्य संघ संस्थाबाट १५ हजार रुपैयाँ आर्थिक सहयोग पनि जुटेको छ । अहिले उनी अस्पतालको शैयामा आफ्नी छोरीका साथ चिकित्सकको निगरानिमा छिन् ।