आर्थिक

किष्ट बैंक ठगी गर्ने फरार बास्टाकोटी यसरी परिन् पक्राउ

काठमाडौँ । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालि अनामनगर, काठमाडौँका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले भक्तपुर, दुवाकोट घर भएकी बस्ताकोटीलाई चार वर्ष कैद र रु ४ करोड २६ लाख ८३ हजार ५०० जरिवाना हुने ठहर गरेको थियो ।

फैसलापश्चात् फरार रहेकी बस्ताकोटीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टंकी–सिनवारी, मोरङबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा पेश गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय मोरङमा पठाइएको ब्यूरोले जनाएको छ ।

बस्ताकोटीले व्यावसायिक कारोबार विस्तार गर्ने प्रयोजनका लागि भनी किष्ट बैंकबाट कर्जा लिने मनसायले बैंकका तत्कालीन कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीको सहयोगमा बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीसमेतलाई प्रभावमा पारी कमसल धितो राखेकी थिइन् ।

धितोबापत कम्पनीको पुस्तक र भक्तपुरमा रहेको जग्गाको मूल्य रु १७ करोड पाँच लाख हुने गरी कमसल धितोको अधिक मूल्यांकन गराई २०६७ असार १ गते किष्ट बैंकबाट रु १२ करोड जोखिमयुक्त कर्जा लिएको र सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेको ब्यूरोले जनाएको छ ।