राजनीति

चुनाबमा भाग लिन्छौ तर संविधान संशोधन विफल पारिएकामा भने प्रदर्शन गर्छौ : राजपा

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टीको दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्वाचनमा जाने निर्णय भएको जानकारी गराएको हो ।

“पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिन्छौँ,” पार्टीको निर्णयमा उल्लेख छ ।

बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पत्रकार सम्मेलनमा जानकारी दिए ।

संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत बैठकले गरेको छ ।

आगामी असोज २ गते प्रदेश नं २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न दुई चरणको निर्वाचन बहिष्कार गरेको थियो ।

बैठकले बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ । यसका लागि दबाब तथा संविधान संशोधन विफल पारिएकामा यही भदौ ९ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।