राजनीति

नेपाल भारतबीच ८ वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल र भारतबीच ८ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हस्ताक्षर भएको हो ।

८ वटा सम्झौता मध्ये पुनर्निर्माणसम्बन्धी ४ वटा सम्झौता छन् । जसमा भूकम्पपछिको पुनर्निर्माण लागि भारतले दिने भनेको १ अर्ब रुपैयाँको प्रयोग, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदाको पुननिर्माण सम्बन्धी छ । अन्य चार सम्झौता भने पुल पुननिर्माण, लागु औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्बन्धी छन् ।

त्यसअघि, हैदरावाद हाउसमा देउवा र मोदीबीच झन्डै ३० मिनेट एक्ला–एक्लै कुराकानी भएको थियो । लगत्तै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता भएको थियो । त्यसक्रममा सम्झौता गरिएको हो ।

यसैबीच, नेपालमा हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १८० मेगावाट विद्युत नेपाल ल्याउन दुई देशबीच अन्तरदेशीय प्रसारणलाइनको पनि आज संयुक्त रुपमा दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीद्वय देउवा र मोदीले रिमोटमार्फत हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।

ती दुई प्रसारणलाइन केही महिनापहिले निर्माण सम्पन्न भएर परीक्षणसमेत भइसकेको छ ।