स्वास्थ्य

बाढी/पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । बाढी/पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा कुनै रोग तथा महामारीको अवस्थामा नरहेको मन्त्रालयलको भनाइ छ ।

मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि जनाएको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयको तथ्यांक छ ।

केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५ सय स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए । साथै औषधि, अन्य उपकरणको मागअनुरुप वितरण भइरहेको उनले बताए ।

प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रम समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तको भनाइ छ ।