पु.समाचार

होसियार ! मादक पदार्थ खाएर सवारी नचलाउ, महानगरिय प्रहरीद्वारा ३४८ जनाको लाइसेन्स निलम्बन

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पटक–पटक गरी पाँचाँै पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताउका छन् । महाशाखाले विस २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् ।

महाशाखाले आर्थिक वर्ष २०६९/७० मा २२ हजार २७२, २०७०/७१ मा ४८ हजार ६६९, २०७१/७२ मा ३१ हजार ८२४, २०७२/७३ मा २४ हजार १०२ र २०७३/७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।

मापसे गरी सवारी साधन चलाउने चालकमाथि कारवाही शुरु भएयता मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा कमी आएको महाशाखा प्रमुख खनालले बताए ।