विशेष

बिमलेन्द्र निधिले कार्यबाहक सभापति पाएपछि कांग्रेसभित्र हंगामा, यस्ता छन् कांग्रेस नेताहरुका प्रतिक्रिया !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा यसबेला पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् । भारत भ्रमणमा निस्कनुअघि उनले आफुले नेतृत्व गरेको सरकार र पार्टीको कार्यबाहक नेतृत्व अन्य नेताहरुलाई सुम्पिएर गएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गर्ने कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दोश्रो तहमा रहेका नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई दिएका छन् भने पार्टी नेतृत्वको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिएपछि अहिले सो पार्टीभित्र निकै चर्को बहस सुरु भएको छ ।  विमलेन्द्र निधि कांग्रेसभित्र आफैमा प्रभावशाली नेताका रुपमा उदाउँदै गएका नेता हुन् तर पार्टीको पोर्टफोलियो अनुसार उनी तेश्रो तहका नेतामा पर्ने गर्छन् ।

सभापति देउवाले आफुभन्दा पछिका बरिष्ठ र पाका नेताहरुलाई कार्यबाहकको जिम्मेवारी नदिइकन किन निधिलाई रोजे ? यो प्रश्न अहिले कांग्रेसभित्र निकै चर्को रुपमा उठिरहेको छ । वास्तवमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले निधिलाईनै कार्यबाहक जिम्मेवारी दिनुको भित्री कारण भने अर्कै रहेको बुझिएको छ । विमलेन्द्र निधि कांग्रेसलाई पछिल्लो समयमा अग्रगति दिने र नयाँ ढंगले परिचालन गर्ने प्रभावशाली नेता मात्र होइनन्, उनले राष्ट्रिय राजनीतिमा समेत निकै प्रभाव पार्ने योजनाहरु निर्माण गर्दै आएका छन् ।

तत्कालीन पार्टी सभापति स्व.सुशील कोइराला प्रधानमन्त्री भएका बेला मुलुकमा नयाँ संविधान जारी भयो । त्यसलगत्तै भारतले असहमति जनायो । त्यसपछि तत्काल सरकारको नेतृत्वमा आएका एमाले अध्यक्ष ओली र भारतबीच ठूलो वाकयुद्धनै भयो ।

यो बीचमा कांग्रेस नेता निधिले भारत र नेपालबीचको सो द्धन्द्धलाई राम्रो उपयोग गरे । उनले त्यसैको आधारमा मुलुकमा रहेको वामपन्थी समीकरणलाई तोड्न सफल भए ।  एमाले र माओवादीबीच फुट ल्याइदिएर कांग्रेस–माओवादीबीच सत्ता गठबन्धन निर्माण भयो । जुन अहिले पनि जारी छ ।

यो खेलमा नेता विमलेन्द्र निधिको ठूलो भूमिका रहेको बताइन्छ । यद्यपि, यसमा कांग्रेस र अन्य दलका केही नेताहरुको समेत योगदान रहेको बताइन्छ । यसरी पार्टी र राष्ट्रिय राजनीतिमा समेत निकै ठूलो प्रभाव पार्दै आएका निधि मधेसी नेता समेत हुन् । उनको राजनीतिक प्रभाव मधेसमा निकै राम्रो छ ।

त्यसैले पनि पार्टी नेतृत्वले उनलाई काखी च्याप्न वाध्य भएको बताइन्छ । पार्टीभित्रका अलवा राष्ट्रिय राजनीतिमा समेत निकै ठूलो प्रभाव पार्न सफल भएका निधि सभापति देउवाका अत्यन्तै विश्वासिला पात्र समेत हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री समेत रहेका निधिसँग त्यसबेला घटेको आइजीपी प्रकरणमा मनमुटाव भएका कुराहरु समेत बाहिर आएका थिए । तर त्यसले सभापति देउवा र निधिबीचको सम्बन्धमा खासै प्रभाव पारेको देखिदैन ।

यी थुप्रै कारणले पनि देउवाले उनलाई काखी च्यापेको बताइन्छ । त्यतिमात्र होइन कांग्रेसका तत्कालीन नेता स्व.महेन्द्रनारायण निधि र मधेसमा स्थापित उनको छबिले उनका छोरा विमलेन्द्र निधिलाई कांग्रेस नेतृत्वलाई काखी च्याप्न सजिलो भएको देखिन्छ ।

निधिलाई कार्याबाहक दिएपछि पार्टीभित्रै चर्को विरोध !
प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले नेता निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेसभित्र चर्को विरोध सुरु भएको छ । सभापति देउवाले बरिष्ठ नेतादेखि आफ्नै समूहभित्रका पाका र बयोबृद्ध नेतालाई समेत सम्मान गर्न नसकेको भन्दै अर्को समुहका नेताहरुले चर्को विरोध गरेका हुन् ।

विशेषगरी नेता रामचन्द्र पौडेल पक्षधर समुहका नेताहरुले सभापति देउवाको यो कदमको चर्को विरोध गरिरहेका छन् ।  जानकारहरुका अनुसार पौडेल पक्षका बरिष्ठताका आधारमा निकै तल रहेका नेतालाई एक्कासि कार्यबाहक सभापतिको जिम्मेवारी दिनु भनेको राजनीतिक रुपमा अन्याय भएको बताउन थालेका छन् ।

को नेता के भन्छन् ?
पार्टी सभापति देउवाले नेता निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेसका केही नेताले यसलाई त्रुटीको संज्ञा दिएका छन् । कांग्रेसका युवा नेता धनराज गुरुङले बैधानिक रुपमै केन्द्रीय समितिबाट अनुमोदन भएको भए भिन्नै कुरा तर उपसभापतिको पद खाली भएपछि सभापति पछिको बरिष्ठ नेतालाई जिम्मेवारी दिनुपर्ने बताए ।

नेता गुरुङले पार्टीभित्र पदाधिकारीनै चयन नभइसकेको अवस्थामा सभापतिले आफुभन्दा दोश्रो तहको नेतालाई जिम्मेवारी दिनुपर्नेमा यसमा देउवाले त्रुटि गरेको बताए ।

त्यस्तै, कांग्रेसका अर्का प्रभावशाली युवा नेता प्रदिप पौडेलले पार्टीको वैधानिक व्यवस्थामा उपसभापतिले कार्यबाहक पाउनुपर्ने बताउँदै अहिले उपसभापतिनै नभएको बेला बरिष्ठ नेतालाई त्यसको जिम्मेवारी दिनुपर्ने बताए । तर पार्टीभित्र एक्कासि कुनै परिघटना घट्यो भने मात्र कार्यबाहक दिने चलन भएकोले यसमा धेरै बहस गर्नुनपर्ने उनले बताए ।

कांग्रेसभित्र बरिष्ठ नेताको क्रममाचाहि प्रकाशमान सिहं अगाडि रहेका छन् । उनी पछि कृष्ण सिटौला,केबी गुरुङ,गोपालमान श्रेष्ठ लगायत पछि मात्र विलेन्द्र निधिको नाम आउँछ । त्यसैले सभापति देउवाले करिब आधा दर्जन बरिष्ठ नेताहरुलाई पछि पार्दै निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने काम गलत भएको कांग्रेसका धेरै नेताहरुको भनाई छ ।