पु.समाचार

प्रधानमन्त्री देउवा दिल्ली पुगेलगत्तै चीनले दियो यस्तो प्रतिक्रिया !

काठमाण्डौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर उत्तरी छिमेकी चीनले दुवै देशसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने जनाएको छ।

देउवाको भ्रमणलाई नजिकबाट नियालिरहेको उसले दुवै छिमेकीले नेपालको एकअर्काप्रतिको सम्बन्धमा विश्वास गर्नुपर्नेमा समेत जोड दिएको छ। प्रधानमन्त्री देउवा बुधबार भारतको राजकीय भ्रमणमा निस्केको केही घण्टापछि बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले यस्तो धारणा राखेको हो।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले नेपाल–चीन सम्बन्ध स्वस्थ र विकसित हुनुपर्ने औंल्याउँदै त्यस्तै सम्बन्ध भारतसँग हुँदा पनि चीन खुसी हुने बताइन्। ‘नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण रूपमा अघि बढेको भारतले समेत हेर्न चाहेको हाम्रो विश्वास छ,’ उनले भनिन्।

विगतमा नेपाल–भारतका विषयमा प्राय: नबोल्ने चीनले पछिल्ला भ्रमणबारे भने प्रतिक्रिया जनाउँदै आएको छ। भुटान–चीन सीमा दोक्लमको विषयलाई लिएर भारतले उपस्थिति देखाएपछि दुई देशबीच तनाव बढेको छ।

यो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणबारे चीनले गहिरिएर चासो राख्ने अडकल भइरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गतसाता गरेको नेपाल भ्रमणलाई समेत यही विषयसँग जोड्ने गरिएको छ।

भारतले चीन–नेपाल सम्बन्ध शान्तिपूर्ण बाटोमा अघि बढेको देख्न सक्नुपर्ने जनाउँदै चीनले आफ्नो नेपालप्रतिको नीति थप प्रस्ट पारेको छ। कूटनीतिक स्रोतका अनुसार चीनले केही समययता देउवालाई अहिलेको अवस्थामा नयाँदिल्ली नजाँदा राम्रो हुने आशय व्यक्त गरेको थियो।

चीनमा हुने ब्रिक्स (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण नगरून् भन्ने चाहना उसले अनौपचारिक रूपमा व्यक्त गर्दै आएको परराष्ट्रका अधिकारीले सुनाए। यद्यपि चीनले भ्रमण सफलताको शुभेच्छा भने दिएको छ।

चीनले प्राय: सबै भेटमा दक्षिणी छिमेकी अर्थात् भारतलाई नचिढ्याउन सुझाव दिँदै आएको छ। यो भ्रमणमा पनि त्यस्तै सन्देश दिँदै नेपाललाई चनाखो बन्न आग्रह गरेको विश्लेषण चिनियाँ अधिकारीको छ।

चीनमा अध्ययन गरेर फर्केपछि त्रिदेशीय सहकार्यमा लबिइङ गरिरहेका भाष्कर कोइरालाले दोक्लम विषयमा नेपाललाई भारत र चीनले आ–आफ्ना पक्षमा तान्न खोजेकाले सचेत हुनुपर्ने बताएका थिए। पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भारत र चीनको कूटनीतिक लबिइङमा नपरी तटस्थतामै जोड दिन आग्रह गरेका छन्।

पछिल्लो समय नेपालको भारतसँगको सम्बन्धसाथै अन्तर्राष्ट्रिय मामिलामा राख्ने धारणाबारे समेत चीनले निकै चासो देखाइरहेको छ। दोक्लम प्रकरणमा नेपाल तटस्थ रहोस् भन्ने चिनियाँ आशय बुझिन्छ। चीनले नेपालमा बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फत सहयोग बढाउन लागेपछि भारतले चिन्ता व्यक्त गरेको चर्चा पनि छ।

चीनको पछिल्लो धारणा आएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारलाई तय भएको भेटका लागि पूर्वछलफल भन्दै राष्ट्रपति भवनमा रहेका प्रधानमन्त्री देउवालाई सेभेन रेसकोर्समा बोलाएर एक्लै वार्ता गरेका छन्।

बिहीबारको कान्तिपुरमा लेखिएको छ,  दोक्लम विवादमा काठमाडौं तटस्थ रहनुपर्ने आवाज उठिरहेका बेला बेइजिङबाट कूटनीतिक रूपमा आएको प्रतिक्रिया र भारतीय समकक्षीसँग प्रधानमन्त्रीको भेटपछि नेपाल दुईपक्षीय कूटनीतिक पेलाइमा परेको स्पष्ट छ।