उर्जा

अटेर गर्नेलाई लाईन काटेर भएपनि रकम अशुली गर्न उर्जामन्त्रीले दिए कुलमानलाई निर्देशन

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता असुल उपर गर्न र तिर्न अटेर गर्नेको लाइन काट्नसमेत निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च पदस्थ कर्मचारीलाई मंगलबार ऊर्जा मन्त्रालयमा बोलाएर मन्त्री शाहीले महसुल नतिर्नेलाई छुट नदिन निर्देशन दिएका हुन् ।

प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको भन्दै उनले कुनै पनि बहानामा संस्थालाई घाटामा पार्ने काम कोही कसैबाट पनि गर्न नहुने बताए ।

ऊर्जामन्त्री शाहीले निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समयसीमाभित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिएका हुन्।

प्राधिकरणका अनुसार मुलुकभर करिब रु दुई अर्ब बराबरको बक्यौता छ । लामो समयदेखिको बक्यौता नतिर्नेमा सरकारी निकाय पनि अग्रपङ्क्तिमा छन् ।

यस्तै, केही औद्योगिक तथा घरायसी ग्राहकले समेत महसुल तिरेका छैनन् । प्राधिकरणले महसुल नतिरेका केही ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । तर कतिपय स्थानमा त्यसो गर्दासमेत महसुल उठ्न सकेको छैन ।

प्राधिकरणले भने बक्यौता असुल उपर गर्ने कार्य नियमित प्रक्रिया नै भए पनि अटेर गरेर बसेका केही ग्राहकलाई थप समय दिएर उठाउने बताएको छ ।

कार्यकारी निर्देशक घिसिङले महसुल उठाउने र चुहावट नियन्त्रण गर्ने कार्यलाई अभियान र निरन्तरताको कार्यका रुपमा अगाडि बढाउने जानकारी दिए ।