आर्थिक

मालपोत कार्यालयद्वारा एक करोड भन्दा बढि राजस्व संकलन

जुम्ला । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन गरेको छ ।

लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो/दृष्टि बन्धकबाट रु १६ लाख ९९ हजार, बकसपत्रबाट रु छ लाख २७ हजार र छोडपत्र र दानबकसबाट रु छ लाख २९ हजार राजस्व संकलन भएको मालपोत अधिकृत रामलाल प्याकुरेलले जानकारी दिए ।

नगरपालिका र गाउँपालिकाका महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, आदिवासी/जनजाति गरेर ५३३ जनाले राजस्व छुट प्राप्त गरेका थिए । लक्षित वर्गलाई रु १७ लाख आठ हजार राजस्व छुट गरिएको कार्यालयले जनाएको छ । आव २०७२/७३ मा मालपोत कार्यालयले रु एक करोड १२ लाख १५ हजार राजस्व संकलन गरेको थियो ।