समाचार

बाढीले बगाएर भारत पुर्याएको नेपालको अर्को दुर्लभ एकसिंगे गैँडाको उद्धार

चितवन । बाढीले बगाएर भारत पुर्याएको अर्को दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्याएको वयस्क गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

उनका अनुसार सोमबार साँझ डार्ट गरेर नियन्त्रणमा लिइएको गैँडालाई आज बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैँडा हो ।

बाढीले चितवन निकुञ्जबाट चारवटा गैँडालाई बगाएर भारत पुर्याएकोमा तीनवटाको उद्धार भएको छ भने एउटा बच्चा गैँडाको उद्धारका लागि आज पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

यसअघि अस्ति आइतबार र साउन २ गते गरेर दुईवटा गैँडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । प्राविधिकहरुले बन्दुकमार्फत डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गैँडालाई ल्याउँछन् ।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारमा खटिएका छन् । पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्यांक छ ।

उक्त गैंडामध्ये बर्दिया र शुक्लाफाँटामा एक दर्जनभन्दा बढी गैँडा स्थानान्तरण भइसकेका छन् । बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गैँडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ ।