राजनीति

संविधान संशोधनले मधेशी जनताको हित हुन नसक्ने -उपेन्द्र यादब

काठमाडौँ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथिको दफावार छलफल जारी छ । उक्त प्रस्तावमाथिको आजको छलफलमा भाग लिन ५१ सांसदले नाम लेखाएका छन् । छलफलमा भाग लिन चाहने सांसदलाई बोल्नका लागि तीन मिनेटको समय प्रदान गरिएको छ ।

संशोधन विधेयकमाथि ५० संशोधन दर्ता छन् । नेपालको संविधान दोस्रो संशोधन प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावमाथिको छलफलमा वर्तमान सरकारलाई समर्थन गर्ने राजनीतिक दलका सांसदले पक्षमा बोल्दै संशोधनको बचाउ गरेका छन् छ भने प्रमुख प्रतिपक्षीलगायत केही दलले भने नेपाली जनताको हितमा नरहेको भनी विरोध गर्दै आएका छन् ।

संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले संशोधन विधेयक केका लागि ल्याइएको हो भनी प्रश्न गर्दै आफू संशोधनको पक्षमा रहे पनि संशोधनले मधेशी आदिवासीको समस्यालाई सम्बोधन नगर्ने बताए ।

नेकपा (एमाले)का टीकाराम चेम्जोङले संशोधन प्रस्ताव असफल हुन्छ भन्ने जान्दाजान्दै किन छलफलमा ल्याइएको भनी प्रश्न गरे । एमालेकै शेरबहादुर तामाङले संविधान संशोधनको विषय सैद्धान्तिक रुपमा गलत रहेको धारणा राखे भने हर्कबोल राईले संशोधन प्रस्ताव मुलुकका हितमा नरहेकाले फिर्ता लिनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेसका चित्रलेखा यादवले सबै वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि संशोधन आवश्यक रहेकाले यसका पक्षमा मतदान गर्न आग्रह गरे । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले संशोधन जनताको भन्दा पनि नेताको हितमा रहेको धारणा राखे ।
बोल्ने साँसदहरुको संख्या धेरै भएकाले संबिधान संसोधन संबन्धी छलफल लागी लम्बीने सम्भाबना देखिएको छ ।