पु.समाचार

बाढीपीडितलाई शीघ्र राहत पुर्याउन सांसदहरुको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्याउने काममा सरकार असफल भएको बताएका छन् ।

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिँदै उनले भने – “हामी जनताको समस्याप्रति गम्भीर हुन सकेका छैनौँ । सबैभन्दा धेरै मारमा परेको जनताको संख्या अझै पहिचान हुन सकेको छैन ।”

राहत पाउनुपर्नेले नपाउनु र नपाउनु पर्नेले पाउनु भनेको स्थानीय तहको निर्वाचन समयमै नगर्दाको परिणति भएको बताउँदै नेता नेपालले भने – “बाढीपहिरो र डुबान क्षेत्रमा अत्यावश्यक खाद्यान्न, त्रिपाल, लुगाफाटो र औषधि पठाउनेतर्फ राज्यको ध्यान जाओस् ।”

साउन २७ देखि परेको वर्षा र बाढीबाट रौतहट जिल्लालगायत देशका धेरै भागमा अहिलेसम्म १३५ जनाको मृत्यु भएको र धेरै ठूलो सम्पत्तिको नोक्सानी भएको बताउँदै उनले भने – “जलवायु परिवर्तनको असरलाई न्यून गर्न हामीले कति आवाज उठाउन सकेका छौँ, त्यसबारे सबैले गम्भीरतापूर्वक पुनरवलोकन गर्न र सोच्न आवश्यक छ । दक्षिणमा सीमा क्षेत्रमा बनाइएको तटबन्धको कारण तराईको जनजीवन चौपट हुने गरेको छ ।”

रौतहटमा मात्र चार लाख जनता प्रभावित हुनाका साथै रु तीन अर्बभन्दा बढीको क्षति भएको उनले उल्लेख गरे ।

संघीय समाजवादी फोरम नेपाल सांसद डा शिवजी यादवले हालै आएको बाढी, पहिरो र डुबानको कारण मुलुकका विभिन्न जिल्लामा भएको जनधनको क्षतिबारे अध्ययन गर्न विशेष समिति गठनको माग गरे । उनले संविधान संशोधनको प्रस्तावलाई विश्व समुदायले नै गहिरो चासोको साथ हेर्दै आएकाले छिटो छिनोफानो हुनुपर्ने बताए ।

मधेशी जनअधिकार फोरमका लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीले संविधान संशोधन गर्दा मुलुकमा थारुले उठाएको माग पनि सम्बोधन गरिनुपर्दछ भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आसन्न भारत भ्रमणका बेला तराईको डुबान समस्याबारेमा स्पष्टसँग कुरा राख्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

नेकपा मालेका सांसद सिपी मैनालीले अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीमा क्षेत्रमा बनाइएको बाँध र सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषय भारतसामु उठाउन सुझाव दिए ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले सबै नेपालीका लागि समान अधिकार दिने र संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको संविधान संशोधनको पक्षमा उभिन सबै राजनीतिक दललाई आग्रह गरे ।

नेपाली काँग्रेसका शेषनाथ अधिकारीले नारायणी र राप्ती नदीले चितवनमा बालीनालीमा धेरै क्षति पुर्याएको बताउँदै त्यस क्षेत्रका खोलामा बलियो तटबन्ध निर्माण गर्न माग गरे ।
राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणका बेला भारतले बनाएको बाँधबाट उब्जिने डुबान समस्या र कोशी बाँधको साँचोको विषय स्पष्ट रुपमा कुरा राख्नुपर्ने सुझाव दिए ।

बाढी पीडितलाई तत्काल राहतको माग

व्यवस्थापिका–संसद्को आजको शून्य समयमा भाग लिने अधिकांश सदस्यले हालै मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो र डुबानबाट पीडित जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

डुबान क्षेत्रमा फैलन सक्ने रोगब्याधिलाई समयमै नियन्त्रण गर्न विशेषज्ञसहितको स्वास्थ्य टोली खटाउन तथा सदाका लागि खोला नियन्त्रण गर्न बलियो तटबन्धको व्यवस्था गर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँमा ल्याउन लागिएको मेलम्चीको मुहानमा जंगली सुँगुरले दूषित बनाएको हुँदा त्यस क्षेत्रबाट सँुुगुर हटाउन पनि सांसदले माग गरे ।
आजको शून्य समयमा सांसदहरु शान्तिदेवी चौधरी, शेरबहादुर तामाङ, शारदाकुमारी विश्वकर्मा, सीता नेपाली, हर्कबोल राई, हरिबहादुर राजवंशी, शिवचन्द्र चौधरी र शिवलाल थापाले तराईका अधिकांश जिल्लाका जनताले बाढीपहिरो र डुबानका कारण दुःख झेल्नुपरेकाले उनीहरुलाई तत्काल राहत र बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।