शिक्षा

नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन् ।

त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज यहाँ उद्घाटन गर्दै उनले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक दलभित्र एकता र स्थायित्व भएपछि मुलुकले अगाडि बढ्ने बताउँदै सङ्घ र प्रदेशको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुने दाबी गरे । उनले संविधानको सफल कार्यान्वयनका लागि दुवै चुनाव आवश्यक भएको धारणा राखे ।

“माघ ७ गतेभित्र दुवै निर्वाचन गराउन पर्छ”, उनले भने, “दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ । अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ ।”

उनले संविधान कार्यान्वयनपछि सबैका अधिकार स्थायी हुने भन्दै अब कसैले पनि संघीय गणतान्त्रिक अधिकार खोस्न नसक्ने बताए ।

देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । उनले आफू प्रधानमन्त्री भएको बखतमा त्रिचन्द्र कलेजलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानले शिक्षाको क्षेत्रमा कलेज देशकै नमूना कलेजका रुपमा स्थापित भएको बताए ।

समारोहमा प्रधानमन्त्री देउवाले साहित्यकार सत्यमोहन जोशी, नरकान्त अधिकारी तथा प्राध्यापक पुरुषोत्तम सिंह डंगोल, दीपककृष्ण श्रेष्ठ, डा रोशनी मैँया श्रेष्ठ, विष्णु डंगोलसहित १६ जना उपप्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरेका थिए ।

विसं १९७५ भदौ ५ गते तत्कालीन चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पसको स्थापना गरेका थिए ।