खेलकुद

आईतबार पौडी टोली अमेरिकातर्फ प्रस्थान

काठमाडौँ । छैटौँ विश्व जुनियर पौडी च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज अमेरिकाको इन्डियाना प्रस्थान गरेका छन् ।

यही भदौ ५ देखि १० गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाई गरे ।
सहभागी खेलाडीमा युगेन शेर्पा, एलेक्जन्डर शाह, गौरव महर्जन, वेदाज्ञराज जोशी, टीसा शाक्य, अक्सरा सिंह र ओसिना भारतीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको सेभ दि मिसनमा नेपाल पौडी सङ्घका सदस्य सागर शाक्य, व्यवस्थापकमा पौडी सङ्घका सह–कोषाध्यक्ष नाजिरउद्दिन मुस्लिम र प्रशिक्षकमा शंकर कार्की रहेका छन् ।

नेपाललाई तीन रजत

भारतको नयाँ दिल्लीस्थित तालकोट्रा रंगशालामा भएको १३औँ अल इन्डिया इन्डिपेन्डेन्स डे कप कराते च्याम्पियनसिपमा नेपालले तीन रजत जितेको छ ।

पुरुष ६७ केजीमा जेसन श्रेष्ठ तथा महिला ४५ केजीमा रुक्मिला तामाङ र व्यक्तिगत कातामा ज्योति गिरीले नेपाललाई रजत दिलाए । पुरुष ६० केजीमा राकेश महर्जनले नेपाललाई थप एक कास्य दिलाए ।