समाचार

जाडोमा तातो र गर्मीमा शीतल हुने कुडुले(घुमाउरो) घर लोप हुँदै

पाल्पा, ४ भदौ । प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ ।

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । “पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर देख्न पाइँदैन”, स्थानीय बासिन्दा भीमिसारा आलेले बताए । पहिले जल्पामा २५ भन्दा बढी कुडुले घर देखिए पनि अहिले एक दुई वटा मात्र देखिन्छ । ’

जल्पाका भीमबहादुर सारुले आफ्नो कुडुले घर केही समयअघि भत्केपछि निर्माण नगरिएको बताए । उनको कुडुले घरमा ६ जनाको परिवार बस्थे । कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुन्छ । खरले छाएको कुडुले घरमा भित्र फराकिलो हुन्छ, एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउन समेत मिल्ने हुन्छ । घुमाउरो घर भएकाले छाउन भने निकै समस्या हुन्छ ।

खर र डाँडाभाटा बढी लाग्ने, उज्यालो कम, झ्याल नहुने र धुवाँ बढी हुने गरेकाले पनि मानिसमा कुडुले घरप्रतिको आकर्षण कम हुँदै गएको सारुको भनाइ छ । पहिला पातीमा माटाले लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुंगा माटाले पर्खाल उठाउने चलन रहेको सारु बताउँछन. ।

ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ । मेला तथा महोत्सवमा समेत कुडुले घरका झल्को पाइन्छ । निस्दी, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा प्रशस्त देखिने कुडुले घर अहिले देखिन छाडेको स्थानीयवासीको भनाइ छ ।