सूचना प्रविधि

नेपालमा इन्टरनेटको विकासका लागि निस्कियो यस्तो निश्कर्ष !

काठमाडौँ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहुँच र बहुउपयोगिताका लागि यसका सबै सरोकारवालाको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल–२०१७ सम्पन्न भएको छ ।

इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा र विद्युतीय सुशासनका बहुपक्षीय सरोकारवालाका बीच विभिन्न विधामा प्रस्तुतीकरण, समूहगत छलफल र निष्कर्षका साथ फोरम सम्पन्न भएको हो ।

इन्टरनेट सोसाइटी नेपालको आतिथ्यमा भएको फोरममा इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड प्रस्तुत गरिएको थियो ।

नेपालमा पहिलोपटक आयोजना भएको इन्टरनेट गभर्नान्स फोरममा नेपाल सरकारको सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु, इन्टरनेट स्वतन्त्रता, पहुँच र गुणस्तरका क्षेत्रमा काम गर्ने सङ्घसंस्था, इन्टरनेट सेवा प्रदायक संस्था, सूचना तथा सञ्चार प्रविधि व्यवसायी, विश्वविद्यालय तथा प्राज्ञिक निकायलगायत झण्डै ५० जति साझेदार संस्थाको सहभागिता रहेको थियो । दुई दिन विभिन्न सत्रमा चलेको इन्टरनेट गभर्नान्स फोरममा २०० जनाको सहभागिता रहेको थियो ।

फोरमले इन्टरनेटको इकोसिस्टमबारे आम सरोकारवालालाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सबैको पहुँचमा हुनुपर्ने सन्देश दिएको बहुसरोकार निकाय संयोजन समितिले जनाएको छ ।

हालै सम्पन्न स्थानीय चुनावमा विभिन्न राजनीतिक दलहरुले उठाएका स्मार्ट सिटीको सान्दर्भिकता र सम्भावनाका विषयमा पनि विशेष छलफल भएको छ । छलफलमा सहभागी विज्ञहरुले नेपालले अन्य विदेशी मुलुकको नक्कल गर्नुभन्दा आफ्नै स्थानीय मौलिक सांस्कृतिक विशेषतालाई प्रवद्र्धन गर्दै पूर्वाधार र सुशासनमा स्मार्ट तरिका अपनाउँदै नेपालीपनको स्मार्ट सिटी निर्माण गर्न सकिने सुझाव दिएका छन् । यसैगरी इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रता निर्वाधरुपमा प्रयोग गर्न पाउनुपर्ने विषयमा पनि फोरमले जोड दिएको छ ।

इन्टरनेटसँग सम्बन्धित बहुपक्षीय सरोकारवालाले संयुक्तरुपमा गर्ने प्रचलन रहेको इन्टरनेट गभर्नान्स फोरमको पहिलो नेपाली संस्करणको स्वरुप रहेको इन्टरनेट गभर्नान्स फोरम–२०१७ नेपालको उद्घाटन महिला तथा समाज कल्याण मन्त्री आशा कोइरालाले गर्नुभएको थियो भने समापन सूचना प्रविधि विभागका प्रमुख वीरेन्द्र मिश्रले गरेका छन् ।