राजनीति

अनिता भन्छिन् तालमेलले अध्यक्षको उमेद्वारी खोसियो, निर्मलालाई गठबन्धनले तर्सायो । यस्तो छ महासंघमा महिलाको राजनीति

काठमाण्डौ । राजधानीमा पत्रकार महासंघको २५ औ महाधिवेशनको माहोल यतिबेला निक्कै तातिएको छ । उम्मेद्वारी दिएकाहरु भोट माग्न ब्यस्त देखिन्छन् । महासंघले देशभरबाट १५ सय ८ जनाको मतदाता नामावली पनि प्रकाशित गरिसकेको छ । जिल्लामा पार्षद जितेका उनीहरु पनि आफ्नो प्यानललाई जिताउन लबिङ गरिरहेका छन् । हरेक तीन बर्षमा हुने महासंघको चुनाबमा यो महाधिवेशनले ४७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

पत्रकार महासंघको प्रारम्भिक पछिल्लो तथ्यांक अनुसार नेपालमा पत्रकार महासंघको सदस्य संख्या १२ हजार ६ सय ८४ रहेको छ । यस मध्ये महिलाको संख्या २ हजार २ सय ४७ छ ।

यस आधारमा कुल पत्रकार संख्याको १७ दशमलव ७२ प्रतिशत महिलाको संख्या देखिएको छ । तर नेतृत्व तहमा महिलाहरु अति नै न्युन रुपमा मात्रै देखिने गरेका छन् । राजनीतिक दलको नेतृत्व तहमा महिलाहरु पुग्न नसकेको जस्तै यहाँ दलकै छायाँ पर्ने गरेको छ । पत्रकार जन्य संगठनमा मुस्किलले १÷२ जना महिला कार्यसमितिमा अटाउँने गरेका छन् ।

अझ कार्यकारी पदमा त महिला अटाउनु भनेको शिखर नै चुम्नु हो । यसअघि गत फागुन महिनामा भएको जिल्ला तहको महासंघको निर्वाचनमा इलामबाट कोकिला ढकालले अध्यक्षमा जितेर इतिहास रचिन । ढकालको जीत नै महासंघको अध्यक्षका लागि महिलाको पहिलो जीत भएको हो ।
कस्तो होला यस पटकको चुनाब ?

महासंघको २४ औ महाधिवेशनमा उपाध्यक्षमा अनिता बिन्दु र महिला सचिवमा संगिता खड्का बाहेक अरु ४ जना महिला सदस्यमा चयन भएका थिए । त्यो पनि धेरैजसो महिला कोटाबाट । तर अहिले अनिताको ठाउँमा पुरुष आउादैछन् भने संगिताले फेरी उही पद नदोहोर्याउने भएकी छन् ।

यस पटक नेपाली कांग्रेस सम्बद्ध प्रेस युनियन र माओवादी सम्बद्ध प्रेस सेन्टरले चुनाबी तालमेल गर्दै उम्मेद्वारी उठाएका छन् । मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म गठबन्धन गरेका यूनियन र सेन्टरले महिला सचिवमा लक्ष्मी पुनलाई उठाएका छन् । भने एमाले सम्बद्ध प्रेस चौतारीले हाल सदस्य रहेकी सुस्मा पौडेललाई सचिवमा उठाएको छ । यस्तै खुल्ला सदस्यमा यूनियनबाट श्रृजना अर्याल र जानुका बरालको उमेद्वारी परेको छ भने चौतारीबाट खुल्ला सदस्यमा स्वेता सिंहाले उमेद्वारी दिएकी छन् । अझै पनि उमेद्वारी दिने समय भएकाले अझै छलफल भइरहेको पनि संगठनले जनाएका छन् ।

संगठन र संस्थाले व्यक्तिको आँटलाई बल पुर्याउँने हो । तर यहाँ त महिलामा भएको उत्साह जोस र जागरलाई आफुभित्रै कैद गर्न बाध्य बनाइएको छ । हार जीत आफ्नो ठाउँमा छ । तर उम्मेद्वारीका लागि पनि निक्कै पापड पेल्नु पर्छ यहाँ । अझ पार्टीका बरिष्ठदेखि लिएर भातृसंगठनलाई खुशी बनाएरै मात्र उम्मेद्वारी दिन बाटो खुल्छ । अनिता विन्दु यो पटकको महाधिवेशनका लागि अध्यक्षको दाबेदार हुन् । भने संगिताले उपाध्यक्ष वा महासचिवको उम्मेद्वारी दिन सक्ने हुन् । तर दुवै जना अबको कार्यसमितिबाट बाहिरिदै छन् । पत्रकार निर्मला शर्माको नाम पनि एक ताका अध्यक्षका लागि निक्कै चर्चामा थियो । तर अहिले तै चुप मै चुप भने झै सेलाएको छ । आखिर किन त मच्चियो मच्चियो अन्तमा थच्चिनु पर्ने । भरयाङ चडाउँन उक्साउने तर तला टेक्न नदिने प्रबृति किन नरोकिएको होला ?

के महिलाले पुरुषको तुलनामा कार्य सम्पादन गर्न सक्दिनन् । महासंघकी उपाध्यक्ष अनिता विन्दु भन्छिन् । यो तीन बर्षको कार्यकालमा मैले यो कुर्सीमा बसेर कुनै पुरुषले गर्ने भन्दा कम काम गरेकी छैन । तर यति चै हो, पुरुष जस्तो सजिलो गरी जता पनि भनेको बेला जान नसकिने र जो संग पनि बसेर बार्गेनिङ गर्न नसकिदो रहेछ । पेशा र संगठनमै इमान्दार बन्न त आवश्यक छ तर यही इमान्दारिता पनि महिलाका लागि भने कहिलेकाही अभिशाप जस्तै बन्दो रहेछ ।

उनको चाहाना अध्यक्षकै लागि थियो । अन्तिम समयसम्म पनि अध्यक्षका लागि दाबी गरिरहेकी थिइन् अनिताले । साथीहरुले पनि सहयोग गर्छौ भनेकै थिए । तर बिडम्बना ट्रेनलाई जितेर एक्लै अघि बढ्न सकिनन् । भन्छिन्–“ट्रेन नै यस्तो छ, संस्थागत निर्णय भन्दा बाहिर जान सकिन्न । मैले त बरु गठबन्धन नगरि जाउ म अध्यक्षमा उठ्न तयार छु भन्दा नि भएन ।” हो यहाँनेर संस्था वा संगठनले अनितालाई नै अध्यक्ष बनाउन लबिङ किन गर्न सकेन । महिलालाई अवसर नै नदिएको त होइन तर हाम्रो पितृ सतात्मक सोच चै हट्न नसकेकै हो भन्छिन् अनिता । यसै माथि प्रष्ट पार्दै यूनियनकै अर्की पत्रकार दिलिपा अधिकारी भन्छिन् । “गाह्रो छ, महिलालाई मुख्य पदमा उमेद्वारी पाउन । अरु संगठन जस्तो सजिलो कहाँ छ र यूनियनमा ?”

यस्तै महासंघका लागि अध्यक्षकी दाबेदार भनिएकी चौतारीकी निर्मला शर्मा आफ्नो जीत सुनिश्चित नहुने देखेपछि नउठेको बताउँछिन् । गठबन्धनले फेरी पनि हराउला भन्ने लागेर पछि सरेको उनको भनाइ छ । ८ बर्ष अघि धर्मेन्द्र झाको कार्यकालमा उनी महासचिवको पदबाट पराजित भएकी थिइन् । हार्नकै लागि त के उमेद्वारी दिनु भने जस्तो लाग्यो रे उनलाई । तर यसअघि नै अध्यक्षको जिम्मेवारी सम्हाल्ने आँट चै थियो रे उनीसंग ।

खुल्ला सदस्यका लागि उमेद्वारी दिएकी स्वेताको चाहाना सचिवमा थियो । तर मिलाउनु पर्ने धेरै कुरा भएकाले उनी त्यहाँ अटाउँन सकिनन् । उनी अहिले खुल्ला सदस्यमै खुम्चिएकी छन् । भन्छिन् सोचे जस्तो नहुने, महिलालाई उमेद्वारी पाउनै मुस्किल ।