स्वास्थ्य

बाढीको बितण्डापछि रौतहटमा हैजाको महामारी, प्रभावित जिल्लालाई स्वच्छ खानेपानीका लागि सरकारले ५ लाख छुट्यायो

काठमाण्डौ । देशको पूर्वी तथा तराइ क्षेत्रमा गत साउन अन्तिम साता लगातारको भारी बर्षाका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेको छ । केही ठाउँमा हैजाको महामारी समेत शुरु भएको छ भने कहिँ अज्ञात रोगले ज्यान लिइसकेको छ ।

रौतहटको गढीमाइ नगरपालिका–३ लक्ष्मीपुरमा हैजाको महामारी फैलिएको छ । ६ सय १३ घरधुरीमा झाडा पखाला, रुघाखोकी ज्वरोको महामारी फैलिएको स्थानीय मोहम्मद ज्ञासुद्दिनले बताएका छन् । अहिले इलाका स्वास्थ्यकेन्द्र समनपुरबाट चिकित्सक टोली प्रभावित क्षेत्र पुगेर उपचार शुरु गरेको जनाइएको छ । यस्तै सुनसरीमा २, सिरहा र उदयपुरका १/१ जना गरी ४ जना बालबालिकाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगका कारण ज्यान गएको चिकित्सकले बताएका छन् ।

बर्षाको समय यसै पनि रोगको संक्रमणको जोखिमपूर्ण समय । धेरै जसो पानीकै कारण रोगको संक्रमण बढ्ने गर्छ । यसैले सरकारले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी तथा सरसफाइको कार्यक्रम ल्याएको छ ।

बाढी पहिरो प्रभावित जिल्लामा स्वच्छ खानेपानी तथा सरसफाईको लागि ५ लाख रूपैयाँ निकासा गरिएको खानेपानी तथा सरसफाई मन्त्रालयले जानकारी दिएको छ । बाढी पहिरो प्रभावित जिल्लामा पानीको कारणले उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न र स्वच्छ खानेपानी आपूर्तिको लागि खानेपानी तथा ढल निकास विभागले प्रत्येक जिल्लाले ५ लाख खर्च गर्नेगरी अख्तियारी प्रदान गरिसकेको स्वाथ्य मन्त्री महेन्द्र यादवले जानकारी दिए । बाढी पहिरोपछि खानेपानी तथा सरसफाइको अभावमा लाग्न सक्ने रोबाट बच्नको लागि आवस्यक सबै उपायहरु मन्त्रालयको तर्फबाट उपलब्ध गराइएको पनि मन्त्री यादवले बताएका छन् ।

मन्त्रालयदेखि जिल्ला खानेपानी कार्यालयसम्म समिति गठन गरि प्रभावित क्षेत्रमा गई जनतालाई सचेतना जगाउनेदेखि राहत उपलब्ध गराउनेसम्मको काम गरिरहेको मन्त्री यादवले बताए ।

प्रभावित जिल्लाका प्रत्येक इलाकामा मन्त्रालय, मन्त्रालय मातहतका कर्मचारीहरू खटिएको सोही कारण अहिलेसम्म पानी तथा सरसफाइको अभावमा कुनै मानवीय क्षति हुन नपाएको अझै भविष्यमा हुन नदिन आफूहरू लागिपरेको मन्त्री यादवको भनाइ छ ।

पानी शुद्धिकरणका औषधी तथा आपतकालिन सहयोगको लागि मन्त्रालयले हाइजेनिक किट, बकेट, एक्वा ट्याब तथा अन्य पाउडरहरु वितरण गरिएको मन्त्रालयका सचीव भीम उपाध्यायले जानकारी दिए । जिल्लामा रहेको वाश सेन्टरबाट एकद्वार नीतिबाट राहत वितरण गरिएको र जिल्ला प्रकोप समितिको सिफारिसमा पारदर्शी रुपले राहत दिइएको अधिकारीहरुले बताएका छन् ।

प्रायः सबै सहरी इलाकाहरुमा खानेपानीको सञ्जाल चालू रहेको र ट्युवेल तथा अन्य खानेपानीका स्रोतमा भएको क्षतिको विवरण संकलन भइरहेको र उक्त विवरण आउनेवित्तकै मन्त्रालयबाट बजेटको पनि व्यवस्था तत्काल हुने बताइएको छ ।