स्वास्थ्य

भरतपुर अस्पतालमा क्यान्सर रोगी महिलाको यस्तो बेहाल !

बागलुङ । घाँटीको अर्बुद रोगबाट पीडित यहाँकी एक महिलाको अर्थ अभावमा उपचार रोकिएको छ । गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीलाई तत्काल पैसा नभए अस्पतालबाट बाहिरिनुपर्ने अवस्था छ । उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन नसकेपछि दर्जीका आफन्त सहयोगको आशामा सदरमुकाम आएका छन् । “दुई वटा किमो चढाइयो, बाँकी चार वटाका लागि पैसा छैन”, दर्जीका श्रीमान् टेकबहादुरले भने ।

भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत दर्जीलाई एउटा किमो चढाउँदा रु ४५ हजार खर्च हुने गरेको छ । चिकित्सकले रोग निको हुने बताए पनि उपचार गर्न नसकिने हो कि भन्ने चिन्तामा दर्जीका श्रीमान् र आफन्तजन छन् । नाताले भाइ पर्ने खेमराज भित्रीकोटीको पहलमा गाउँमा सहयोग जुटाएर दर्जीको उपचार शुरु गरिएको थियो ।

निःसन्तान दर्जी दम्पतीको उपचारमा सघाउन भित्रीकोटी पनि अहिले सदरमुकाम आएका छन् । “यहाँबाट केही सहयोग जुट्छ कि भनेर आएका हौँ”, भित्रीकोटीले भने, “तत्काल पैसा जुटाउन नसकिए अस्पतालले बिरामीलाई फिर्ता पठाउने भनेको छ ।”

सामान्य दैनिकी गुजार्नेबाहेक दर्जी दम्पतीको अर्को कुनै आयआर्जनको बाटो छैन । मजदुरी गरेर जीवन धानेको दर्जी दम्पतीलाई खर्चिलो रोग लागेपछि झन् विपत्ति थपिएको छ । श्रीमती अस्पताल भर्ना भएकै दिन टेकबहादुरको घाँस काट्ने क्रममा लडेर हात भाँचिएपछि घर सम्हाल्न धौधौ छ ।

गत जेठ २४ गते अस्पताल पुग्नुभएकी दर्जी भरतपुरमा रहेका आफन्तका घरमा बसी अस्पतालबाट किमो लिइरहेकी छन् । हालसम्म रु डेढ लाख जति खर्च भएको र थप रु चार लाख खर्च हुने जनाइएको छ । उपचारमा आर्थिक समस्या भएपछि जिल्लाबाट केही सहयोग मिल्छ कि भनेर सदरमुकाम आएको दर्जीका भाइ भित्रीकोटीले बताए । दर्जीका श्रीमान् र भाइले जिल्ला जनस्वास्थ्य कार्यालयलगायत कार्यालयमा धाएर सहयोगको याचना गेका छन् ।

“घरको आम्दानी केही छैन, काम गरेर खाने हामीलाई यस्तो आइलाग्यो”, टेकबहादुरले भने,, “यस्तो कसैलाई नपरोस्, गरिबले उपचार गर्न पनि नसकिने भयो ।” दुःख, सुखमा सघाउने श्रीमती नै अस्पतालमा पुगेपछि टेकबहादुरलाई झन् चिन्ताले पिरोलेको छ । भएको थोरै बारीमा छिमेकीले आएर कोदो रोपिदिए पनि अहिले पाकेको मकै भाँच्ने र कोदाको झार फाल्ने कोही नभएको दुखेसो उनले पोखे । “म उपचारमा सहयोग माग्न हिँडेको छु, घर रित्तो भएको छ”, टेकबहादुरले भने । -रामबहादुर थापा