खेलकुद

तीजका अवसरमा भलिबल प्रतियोगिता हुँदै

पोखरा । हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ । यही भदौ ६, ७ र ८ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ पानी ट्याङ्की बागमारामा प्रतियोगिता आयोजना गर्न लागिएको समूहका अध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोद आचार्यले जानकारी दिए ।

उक्त अवसरमा घैँटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथै हास्य कलाकारको प्रस्तुति लगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने छ ।

तीज प्रतियोगितामा सहभागी समूहमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु २० हजार, रु १२ हजार, रु सात हजार र रु तीन हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहसंयोजक श्रीधर पौडेलले जानकारी दिए । त्यस्तै खुला भलिबल प्रतियोगितामा प्रथम द्वितीय र तृतीय बन्ने समूहलाई क्रमशः रु ४० हजार, रु २५ हजार र तीन हजार प्रदान गरिने छ ।