समाचार

उपचार नपाएर तीन बालबालिकाहरुको मृत्यु !

बर्दिया । बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता, बारबर्दिया नगरपालिका ५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र
गुलरिया नपा ४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ बर्षकी छोरी कृष्टि रहेका छन् ।

अनिता साउन २७ गतेदेखिको अविरल बर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिरहेको अवस्थामा बाटो अबरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र ३२ गते मृत्यु भएको बाबु धनबहादुरले बताए ।

२१ दिनका बालक अविलसाउन २१ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको भएपनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको उनका बाबुले बताए ।

शनिबारको नेपालसमाचार पत्रमा लेखिएको छ, कृष्टिपनि ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन् । बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै बाटोबाट सम्भव नभएको बताइएको छ ।