समाचार

सडकमा हिड्दा हिड्दै करेन्ट लागेपछि……!

काठमाण्डौ । काभ्रे, तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् । तर, सडकमै करेन्ट लागेर उनी घाइते भए । लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिडिरहेका उनलाई करेन्ट लागेको थियो ।

विद्युत पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे । उनको दुवै खुट्टादेखि माथिसम्मको भाग जलेको छ । उपचारपछि उनी अहिले घरमै आराम गरिरहेका छन् ।उनको घाउ पूर्णरुपमा निको हुन बर्षदिन लाग्ने चिकित्सकले बताए ।

उनको उपचार खर्च विद्युत प्राधिकरणले बेहोर्ने सहमति भएको छ । शनिबारको नागरिकमा लेखिएको छ, मजदुरी गर्दै आएका तामाङ डेरामा बस्छन् । कमाएको पैसाले परिवारको खर्च धान्थे । तर अहिले उनको कमाइ रोकिएको छ । पत्नी गर्भवती छिन् । अब खर्च कसरी जुटाउने भन्ने उनलाई पिरलो थपिएको छ ।