राजनीति

कमल थापाबाट छुटेका पशुपति सर्वाेच्च गए

काठमाण्डौ, २ भदौ । गत मंसिर ६ गते जोडिएको राप्रपा अन्ततः ८ महिनापछि छुटेको छ । हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ दुई पार्टीले गत मंसिर ६ गते पार्टी एकिकरणको औपचारिक घोषणा गरेका राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरी छुटेका हुन् । पार्टी एकिकरण गर्दै राप्रपा बनेको पार्टी अब फेरी के–के नाममा पार्टी दर्ता हुने हुन् हेर्न बाकी नै छ ।

यसैबीच आज पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन् । यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वाेच्च अदालत गएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए ।

तर आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै असार ४ गतेसम्मको अवधि दिएको थियो । आयोगको यहि निर्णय विरुद्ध राणा सर्वाेच्च अदालत गएका हुन् । आफ्नो दललाई मान्यता दिन निर्वाचन आयोगलाई आदेश गरिपाउँ भन्दै राणापक्षले आज रिट दायर गरेको सर्वाेच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । रिटमा, कमल थापाले आफ्ना पक्षका केन्द्रिय सदस्यलाई समेत अपहरण शैलीमा लुकाएको जिकिर गरिएको राणापक्षका एक नेताले बताए ।

थापाले ४० प्रतिशत पुग्न नदिने रणनीतिका साथ केन्द्रिय समिति बैठकका नाममा आफ्ना पक्षका केही सदस्यलाई अपहरण शैलीमा धरपकड गरि लुकाएर राखेकाले उनीहरुलाई स्वतन्त्र गर्न पनि रिटमा माग गरिएको जनाइएको छ ।