स्वास्थ्य

४ बालबालिकाको मृत्यु भइसक्यो, रोग पत्तो लागेन : बिपी प्रतिष्ठान धरान

धरान, २ भदौः धरानस्थित वीपी कोइरालामा अज्ञात रोगवाट ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु सबै ६ देखि १४ वर्षको बालवालिका रहेका छन् । उच्च ज्वरो आउने, पेट दुख्ने, रगत वान्ता गर्ने, लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए । उनका अनुसार ज्वरो आएर भर्ना भएका बिरामीलाई डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टा मै मृत्यु भईहाल्ने भएको छ । डा.पौडेलका अनुसार अहिले सम्म रोगबारे थाहा हुन सकेको छैन । उनले भने–‘स्क्रफटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुनसक्छ तर हामीले परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भईहाल्छ ।’ भाइरल हेमोरेजिक फिभर हुनसक्ने उनको भनाइ छ ।

साउन १५, २४, ३१ र भदौ १ गते प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका बालवालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा राजु कार्की इटहरी–१० सुनसरी, प्रितीकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७, सुनसरी रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

प्रतिष्ठानले काठमाण्डौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ ।