समाचार

म्याद गुज्रिएको खाद्यान्न नबाढ, कारबाहीमा परिएला

राजविराज, २ भदौ, जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् ।

सप्तरीका बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस बिषयमा छानबिन भइरहेको बताउँदै सम्बन्धित सबै पक्ष तथा क्षेत्र जिम्मेवा ररुपमा प्रस्तुत हुनसमेत उनले आग्रह गरेका छन् ।

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउन समेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।