अन्तर्राष्ट्रिय

स्पेनको प्रहरीले दियो कडा चेतावनी

एजेन्सी । स्पेनको प्रहरीले क्याम्ब्रिल्समा बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्न चारजना मारेको जनाएको छ। प्रहरीले मानिसहरुलाई सडकमा नआउन चेतावनी दिएको छ। बार्सिलोनाको मिडियाले बन्दरगाहतिरबाट गोलीको आवाज आएको जनाएको छ।

त्यसअघि बार्सिलोनाको लस र्याम्ब्लस क्षेत्रमा बिहीबार दिउसो भएको आक्रमणमा कम्तीमा तेह्र जना मारिएका र दर्जनौं घाइते भएका थिए।
मानिसहरुको भीडमा तीब्र गतिमा भ्यान बाङ्गोटिङ्गो गरेर जोताइएको थियो। लस र्याम्ब्लसमा भाडाको भ्यान जोताइँदा पर्यटक र स्थानीयबासीहरु ज्यान जोगाउन भागेका थिए। स्पेनका प्रधानमन्त्री मारियानो राजोयले त्यसलाई जिहादी आक्रमणु भनेका छन्।

दुईजना गिरफ्तार भएका छन् तर प्रहरीका अनुसार दुवैजना उक्त भ्यानका चालक होइनन् जो घटनापछि दौडेर भागेका थिए। तथाकथित इश्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ।

आक्रमण युरोपको एउटा प्रमुख पर्यटकीय गन्तब्यमा र पर्यटकीय मौसमका बेला भएको छ।  गत वर्षको जुलाइ महिना यता युरोपमा भएका आक्रमणहरुमा सवारी साधनलाई भीडमा जोताइने गरिएको छ।