काठमाण्डौ, १ भदौ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत उत्पादनको मात्रामा गुणात्मक परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका छन् ।
मन्त्री शाहीले बढ्दो मागलाई धान्ने गरी विद्युत उत्पादन गर्न पनि विद्युत प्राधिकरणको व्यवस्थापनलाई सचेत गराए । आज काठमाडौंमा आयोजित प्राधिकरणको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मनत्री शाहीले विद्युत उत्पादन वृद्धि गरेर जानुपर्ने अहिलेको आवश्यक्ता रहेको भन्दै प्राधिकरणले दायित्वका रुपमा पूरा गर्नुपर्ने औल्याए ।
मन्त्री शाहीले लोडसेडिङमुक्त गरेर प्राधिकरणले जनस्तरबाट पाएको सम्मानप्रति अभार व्यक्त गर्दै बढ्दो मागलाई पूरा गर्न पनि निर्देशन दिए । उनले उर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउने दायित्व पूरा गर्न नेपाल विद्युत प्राधिकरण सक्षम हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत माग व्यवस्थापन र ऊर्जा दक्षता कार्यक्रमलाई विशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे । उनले विद्युतको उत्पादन, माग र वितरण प्रणालीको क्षमता वृद्धि, स्तरोन्नति र विकास गर्न पर्याप्त लगानी आवश्यक रहेको पनि स्पष्ट पारे ।
कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्ष भित्र करिव १२ हजार मेघावाटको विद्युत खपत गर्न सक्ने गरी तराई लगायतका प्रमुख सहरी क्षेत्रहरुमा औद्योगिक करिडोर एवम् वितरण प्रणालीको विस्तार गर्ने योजना पनि सुनाए । उनले विद्युत चुहावट घटाउने र सेवा प्रवाहको क्षेत्रमा दक्षता बढाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत उत्पादनका लागि आवश्यक लगानीको वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकारले अघि सारेको ‘नेपालको पानीः जनताको लगानी’ कार्यक्रमले विद्युत विकासमा आम जनतालाई सहभागी गराउन सकिने धारणा पनि राखे ।
प्राधिकरणले हाल ठूला जलविद्युत आयोजना निर्माणको कामलाई उच्च प्राथमिकता दिएको छ । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।