सूचना प्रविधि

नेपाल टेलिकमको १ करोड १२ लाख निःशुल्क एसएमएस 

काठमाण्डौ, १ भदौ । नेपाल टेलिकमको १ करोड १२ लाख निःशुल्क एसएमएस नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेकोमा यस अवधिमा करिव १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको पाइएको छ ।

सो अनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएका छन् ।देशका विभिन्न भागमा बाढी पहिरो जादा आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले टेलिकमले सो निःशुल्क एसएमएसको व्यवस्था गरिएको हो ।

त्यसैगरी कम्पनीको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको छ । सो विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आवश्यकता अनुसारको संख्यामा आफैँ एसएमएस पठाउन सक्ने गरी कम्पनीले आवश्यक व्यवस्था गरिदिएको छ ।

हालै आएको अविरल वर्षाका कारण विशेष गरी पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसञ्चारका उपकरणहरुमा समेत क्षति पुगेकोमा आज भदौ एक गते सम्ममा क्षति पुगेका ती उपकरणहरु मध्ये ९१ प्रतिशत भन्दा बढी उपकरणहरु सञ्चालनमा आइसकेका छन् । बाँकी उपकरणहरु पनि छिट्टै नै सञ्चालनमा ल्याई सेवा सुचारु गर्ने कार्य भइरहेको छ ।  अधिकांश रुपमा विद्युत आपूर्तिमा भएको अवरोधका कारण तथा छिटपुट रुपमा दूरसञ्चारका उपकरणहरुमा बाढीको पानीले क्षती पुर्याएको कारणले दूरसञ्चार सेवा आंशिक रुपमा प्रभावित बनेको थियो ।