स्वास्थ्य

देवानगञ्ज र कप्तानगञ्जमा वीपीको निःशुल्क स्वास्थ्य शिविर

धरान, १ भदौ धरान स्थित वी.पी. कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क घुम्ती स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका विरामीहरुको अवस्थालाई ध्यानमा राख्दै शिविरलाई निरन्तरता दिइएको प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले बताए ।

सुनसरीको बाढी प्रभावित क्षेत्र देवानगञ्ज र कप्तानगञ्जमा प्रतिष्ठानका चिकित्सकको टोली गई स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

उनका अनुसार टोलीमा डा. प्रशान्त प्रताप साह, डा. रितेश चौधरी, डा. काश्यप दाहाल, डा. अकशत मिश्र, डा. जितेन्द्र ठाकुर, डा. अन्जु शाक्य, नर्सहरु अम्मल राई, श्रृजना प्रधान, सहयोगीहरु राजन कोइराला र खड्ग राउत संलग्न रहेको छ । प्रतिष्ठानले प्रभावित क्षेत्रमै शिविर सञ्चालन गरी विरामीहरुलाई निःशुल्क जाँंच र औषधि वितरण गरेको छ ।

प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी र खानेकुराको अभाव भएको तथा स्वास्थ्य सम्बन्धि चेतनाको कमीले गर्दा जण्डिस, झाडापखाला, ज्वरो, रुघा, खोकी, वान्ता आउने, रिंगटा लाग्ने र छाला सम्बन्धि रोगसमेत लागेका विरामीहरु बढी मात्रामा पाइएको र त्यसमा पनि धेरै जसो बालबालिका रहेको संलग्न चिकित्सकहरुले बताएका छन् ।