राजनीति

यसकारण एक्कासि ऐतिहासिक रुपमा सफल हुने भए प्रधानमन्त्री देउवा, भारत उड्नुअघि नै देखियो यस्तो संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको नेतृत्व गरेर प्रधानमन्त्री भएको योसहित चौथो पटक हो । मुलुकको नेतृत्व गर्दा पटक–पटक असफलताको पगरी गुथेका प्रधानमन्त्री देउवा यो पटक भने सफल हुने संकेत देखिएको छ ।

गत जेठको अन्तिम हप्ता मुलुकको प्रधानमन्त्री भएलगत्तै उनले दोश्रो चरणको स्थानीय निकायको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सफल भए ।

त्यो सफलतासँगै उनले दुई नम्बर प्रदेशमा थाँती रहेको स्थानीय तहको चुनावको मिति समेत घोषणा गरिसकेका छन् । सो क्षेत्रमा असोज २ गते चुनाव हुने तयारी अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, भर्खरै प्रधानमन्त्री देउवाकै नेतृत्वमा तीन दलका शीर्ष नेताहरुले मंसिरको दोश्रो हप्ताभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने घोषणा गरेका छन् । शीर्ष नेताहरु मंसिर १५ गतेभित्र दुवै तहको चुनाव सम्पन्न गर्ने विषयमा गम्भीर छलफल गर्दै उक्त निश्कर्षमा पुगेका हुन् । त्यसका लागि प्रधानमन्त्री देउवाले भदौ ५ गतेभित्र चुनावको मिति घोषणा गरिसक्नेछन् ।

तीन दलका शीर्ष नेताहरु लगायत अन्य दलका नेताहरुबीच बुधबार भएको बैठकमा प्रधानमन्त्री देउवाले भदौ ५ गतेभित्र चुनावको मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाको व्यस्तताको रुटिन अनुसार पनि उनले भदौ ५ गतेभित्र चुनावको मिति तोकिसक्नुपर्ने हुन्छ, किनभने त्यसलगत्तै उनी भारत भ्रमणमा निस्कदैछन् ।

राष्ट्रिय जनता पार्टीले भने बुधबारको बैठकमा भएको निर्णयमाथि असहमति जनाएको छ । सो दलका नेताहरुले संविधान संशोधन नभएसम्म आफुहरु चुनावमा जान नसक्ने प्रतिक्रिया दिएका छन् तर बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलका नेताहरुले मंसिरभित्र चुनाव गरिसक्ने विषयलाई स्वागत गरेका छन् । यो विषयमा बिहीबार तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग समेत छलफल गर्नेछन् ।

निर्वाचन आयोगको राय बुझेपछि प्रधानमन्त्री देउवाले भदौ ५ गते निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताए ।  यसअघि आयोगका पदाधिकारीहरुले भदौ पहिलो हप्ताभित्र चुनावको मिति घोषणा नगरे आफुहरुले माघ ७ गतेभित्र चुनाव गर्न नसक्ने प्रतिक्रिया दिँदै आएका थिए । आयोगले राखेको उक्त प्रस्तावलाई मध्यनजर गर्दै दलका नेताहरुको बैठकले उक्त निर्णय गरेको बुझिएको छ ।

उता, भदौ पहिलो हप्तादेखि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सुरु हुने र फर्केर आउँदा निकै ढिलो हुने भएकोले उनले जसरी पनि भदौ ५ गतेभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ । त्योसँगै भारत भ्रमणमा प्रधानमन्त्री देउवामाथि निर्वाचनका सम्बन्धमा अनावश्यक दबाब पर्नसक्ने आशंका भएकोले पनि त्यसअघिनै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको गोप्य श्रोतले जनाएको छ ।

त्यसैले सोही कार्यतालिका अनुसार सरकार अघि बढिरहेको बुझिएको छ । चुनावको मिति घोषणा गर्दै गर्दा राजपाका नेताहरुले राख्दै आएको संविधान संशोधन प्रस्तावलाई सदनमा छलफलमा लैजान सहमति समेत भएको बताइएको छ । यसमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहमति जनाएको श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए उनको यो पटकको सरकारको नेतृत्व ऐतिहासिक रुपमा सफल भएको ठहरिने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।