कृषि

कृषिमन्त्री यादवले गरे नयाँ घोषणा

काठमाडौँ । कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन् ।

मन्त्रालयद्वारा यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्षेत्र समेटेर क्षतिको विवरणका आधारमा आगामी भदौ ७ गतेभित्र राहत प्याकेज सार्वजनिक गर्ने बताए ।

मन्त्री यादवले अविरल वर्षाका कारण तराईलगायत अन्य जिल्लामा हालै आएको बाढी, डुबान, कटान तथा पहिराका कारण जनधनको ठूलो क्षति भएकामा कृषि मन्त्रालय चिन्तित रहेको बताउँदै मन्त्रालय अन्तर्गतका कर्मचारीलाई प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खट्न आग्रह गरे ।

त्यस्तै, मन्त्रालयका सचिव सुरज पोखरेलले कृषि मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीको पाँच दिन तलब बराबरको रकम प्रधानमन्त्री केन्द्रीय राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग प्रदान गर्ने जानकारी दिए ।

उनका अनुसार सहसचिव वा सोसरहको चार दिन, उपसचिव तथा शाखा अधिकृत वा सोसरहको तीन दिन, राजपत्र अनंकित कर्मचारीको दुई दिन तथा श्रेणीविहीन कर्मचारीको एक दिन बराबरको तलब राहत कोषमा जम्मा गरिने छ ।

प्राकृतिक विपद्बाट रु आठ अर्ब ११ करोड ५२ लाख बराबरको धान, तरकारी, मकै, माछा, केरा, कोदो, बदाम, बेसारलगायत कृषिजन्य वस्तु क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।