स्वास्थ्य

दुर्गम स्वास्थ्य चौकीमा पनि पुग्यो पहिलोपटक रक्तसञ्चार सेवा

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीमा बुधबारदेखि बिरामीलाई आकस्मिक रक्तसंचार सेवा दिन थालिएको छ । विकट गाउँपालिका र नगरपालिकाका स्थानीयहरुले रगत अभावका कारण ज्यान गुमाउने हुँदादा स्वास्थ्य चौकीमा पनि रगत दिन थालिएको टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दिपक शाहले बताए ।

उनले स्वास्थ्य चौकीमा आएकी छेडेदह गाउपालिका–७ की २६ वर्षीया धनदेवी रावतलाई रक्तअल्पता भएका कारण रगत दिनुपर्ने बाध्यता भएर सेवा अनौपचारिकरुपमा सुरु गरेको जानकारी दिए ।

विपन्न र अति गरिवका लागि जिल्ला बाहिर बिरामीलाई पठाउँदा बढी खर्चिलो हुने भएकाले स्वास्थ्य संस्थामा नै रक्त सञ्चार सेवा सुचारु गरिएको हो ।

जिल्लामै ब्लड बैंक नभए पनि स्वास्थ्य चौकीले आकस्मिक रक्तसञ्चार सेवाअन्तर्गत ‘ए’ पोजिटिभ रगत आफैंले खोजेर उनलाई दियो । गाउँमै रहेको स्वास्थ्य चौकीमै रगत पाएर उपचार गराइरहेकी धनदेवीले भने, “बाहिर जाने पैसा थिएन, यहीँ उपचार पाएकोमा खुसी छु ।”

सुदूरपश्चिमभरिका कुनै स्वास्थ्य चौकीमा पनि यस्तो सेवा नभएको प्रमुख शाहको भनाइ छ । स्थानीयको सहयोग, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको पहलमा आफूहरुले आकस्मिक रक्त सञ्चार सेवा सुरु गरेको स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन खड्ग विष्टले बताए ।

टाँटे स्वास्थ्य चौकीमा आकस्मिक रक्क्तसञ्चार सेवाले स्थानीयलाई निकै सहज भएको जिल्ला जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताए ।

आकस्मिक रक्तसञ्चार सेवा जिल्ला जनस्वास्थ्य कार्यालय बाजुरामा पनि छ । नेपाल रेडक्रस सोसाइटी बाजुराले ब्लड बैंक स्थापना गर्न नसक्दा जिल्लामा रगतको अभाव हुने गरेको छ ।