समाचार

युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ, ३२ साउन । युवासंघ नेपालको नवौं महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्नेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिए ।

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उनले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताए । महाधिवेशनमा अध्यक्षले राजनीतिक, महासचिवले साङ्गठनिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने जानकारी गराइएको छ ।

विगत केही दिनयता आएको वर्षाका कारण बाढीपहिरो र डुबान भई देशभर हालसम्म १२२ नागरिकको मृत्यु भएको जनाइएको छ ।