समाचार

बाढीको विनास, कहाँ कस्तो ? कृषि उपजदेखि उद्योगसम्म !

काठमाण्डौ । लगातार ५ दिनसम्म परेको अविरल बर्षाका कारण देशको पूर्वी तथा तराइ क्षेत्रमा ठूलो विनास भयो । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोमा परेर १ सय २२ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जनजति बेपत्ता नै छन् । मन्त्रालयले यो विवरण प्रस्तुत गरेपनि सबै क्षेत्रको पूर्ण विवरण भने दिन सकेको छैन । कतिपय ठाउँमा राज्यको संयन्त्र पुग्न पनि सकेको छैन । अहिले तत्काललाई बर्षा त रोकिएको छ । तर अब फेरी नपर्ला र यस्तै विपत्तीको चुपचाप सामना गर्नु नपार्ल भन्न सकिन्न ।

गत शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले तराईका जिल्लाहरुमा र्पुयाएको क्षतिको विवरण आइरहेको छ । स्थानीय जिल्ला प्रशासनले क्षतिको विवरण धमाधम संकलन गरिरहेको छ । तर, एकसाता पुग्न लाग्दासम्म गृहमन्त्रालयले क्षतिको पूर्ण विवरण तयार पार्न भने सकिरहेको छैन ।

प्राप्त प्रारम्भिक विवरण अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, चितवन, बर्दिया लगायतका जिल्लाहरुमा बढी क्षति भएको छ भने सिराहा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा भने कम क्षति देखिएको छ ।

झापाः

झापा जिल्लामा बाढीका कारण १२ जनाको मुत्यु भएको प्रारम्भिक तथ्यांक आएको छ । बाढीले बगाएर २ जना बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अनुसार २ हजार घर परिवार विस्थापित भएको विवरण आए पनि यो संख्या अझै बढ्न सक्ने अनुमान छ । जिल्लाको तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताएका छन् ।
बाढीले झापा गाउँपालिका, गौरीगञ्ज नगरपालिका लगायतका दक्षिणी भेगमा बढी क्षति र्पुयाएको छ । भर्खरै धान रोपिएको हुनाले बाढी र डुबानका कारण झापाको कृषि व्यवसायमा निकै ठूलो क्षति भएको छ । यद्यपी बाढीले झापा जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको पुल र सडकमा भने खासै क्षति र्पुयाएको छैन । त्यहाँको सडक सामान्य अवस्थामा यथावत नै छन् ।
मोरङः
मोरङमा अन्य स्थानको तुलनामा दोस्रो ठूलो संख्यामा मानविय क्षति भएको छ ।
हाल प्राप्त विवरण अनुसार बाढी र डुवानमा परी १७ जनाको मृत्यु भएको छ । ४ जना वेपत्ता छन् । वेपत्ता हुनेमध्ये अधिकांशको मृत्यु भएको हुन सक्ने पनि प्रशासनको अनुमान छ । यदी यो संख्या पनि जोडियो भने मोरङमा मृत्यु हुनेको संख्या २१ पुग्नेछ ।
बाढी र डुवानका कारण जिल्लामा ३ हजार २ सय १ वटा निजी घरमा क्षति पुगेको प्रशासनले जनाएको छ । बाढीबाट जिल्लामा ११ हजार ४ सय २० परिवार विस्थापित भएका छन ।

बिराटनगर विमानस्थल र आयल निगमको पर्खाल तथा रिजर्भ ट्यांकको तेलमा पानी मिसिएको छ । विद्युत आपूर्ति बन्द हुँदा खानेपानीको आपूर्ति पनि बन्द भएको छ । विमानस्थललाई समेत बाढीले असर र्पुयाएका कारण एक सातासम्म विमानसेवा ठप्प छ ।
मोरङको बेलबारी इलाका प्रहरी कार्यालयको ब्यारेकमा बाढीले क्षति पुगेको छ । प्रहरी चौकी कर्सियाको कम्पाउण्ड वालमा पनि क्षति पुगेको छ । बाढी र डुवानका कारण मोरङका केही सडकमा पनि क्षति पुगेको छ । जील्लाका ६ वटा पुलमा क्षति पुगेको छ ।

सुनसरीः

सुनसरीमा बाढीका कारण १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा बढी इटहरी नगरपालिकाका छन् । ७ जना वेपत्ता भएकाले मृतककोे संख्या अझै बढ्ने अनुमान छ । ३ जना घाइते भएका छन् । प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण झण्डै ३१ सय परिवार विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेका अनुसार विस्थापित भएका मध्ये धेरैको घर भत्किएको छ । धेरै टाटीका घर हुन्छन् । झण्डै ३ हजार त्यस्ता घरमा क्षति पुगेको अनुमान छ ।

सप्तरीः
सप्तरीमा अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । उपचारका क्रममा मृत्यु भएका एक वालकको सदगति गर्ने ठाउँ नपाएर कोशीमा शव बगाइदिएको दर्दनाक दृश्यले धेरैको मन चिमोटियो । जुन यही सप्तरी जिल्लाकै घटना थियो ।
सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण ५ हजारभन्दा बढी घर बगाएको छ भने १५ हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान छ । सप्तरी जिल्लामा ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । यसअघि २७ गते खाँडो खोलामा आएको बाढीमा परी राजविराज–१५, देउरी भरुवाका डोमी यादवको ज्यान गएको थियो ।

सिराहाः

सिरहा जिल्लामा सप्तरीको तुलनामा निकै कम क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठका अनुसार बाढीका कारण २ सय ५८ वटा घर भत्किएका छन् । करिब दुई सय परिवारका पाँच सय जनसंख्या विस्थापित भएका छन् ।

महोत्तरीः

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका अनुसार जिल्लामा बाढीमा परी हालसम्म चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । तीन सय ४७ घरमा क्षति पुगेको छ भने करिब ४० हजार जनसंख्या विस्थापित भएको छ ।

जिल्लामा ४ हजार जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । गोपालपुर, रहरपट्टी, सिंगियाही, मटिहानी, बालुवा, एकडाँडालगायत गाउँ बढी प्रभावित भएका छन् । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रजिअ श्रेष्ठले बताए ।

सर्लाहीः

सर्लाहीमा बाढीबाट ७ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । तर, प्रभावितहरुको संख्या निकै ठूलो छ । कुल जनसंख्याको करिब २० प्रतिशत अर्थात झण्डै २ लाख मानिस बाढीबाट प्रभावित भएको स्थानीय प्रशासनको आंकलन छ । सूचना अधिकारी लक्ष्मीप्रसाद खरेलका अनुसार गरिब र पीछडिएको मानिसहरु बाढीबाट नराम्ररी प्रभावित भएको छ ।

बाराः
बाढीका कारण बारा जिल्लामा ३ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । प्रभावितहरुको संख्या ३ हजार बढी छ ।

जिल्लामा करिव ७ सय घरमा पूर्ण रुपमा क्षति भएको छ भने ११ सय ३० घरमा आंशिक क्षति भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कतिपय ठाउँमा सञ्चार सम्पर्क हुन नसक्दा एकिन तथ्यांक आउन सकेको छैन । यद्यपि बाढीका कारण बारा जिल्लाको सडक संरचनामा ठूलो क्षति भएको छ । धेरै ठाउँमा सडकहरु बगाएको छ भने पूर्वपश्चिम राजमार्ग अन्तरगतको दुधौरा पुलसमेत भासिएको छ । त्यस्तै हेटौंडा जाने बाटोमा पर्ने ३ नम्बर पुलमा पनि क्षति पुगेको छ ।

पर्सा :

पर्सा जिल्लामा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । हजारौं हेक्टरमा लगाइएको धानबाली जलमग्न छ । ५ सयभन्दा बढी घर डुबानमा परेका र करिब तीन हजार जनसंख्या विस्थापित भएको छ ।

रौतहटः

बाढीका कारण रौतहट जिल्लामा सबै भन्दा बढीको मृत्यु भएको छ । जिल्लामा बाढीमा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ३ जना वेपत्ता भएको छन् । देवाही, प्रेमपुर गोनाही र लालबकैया नदी आसपासका क्षेत्रहरु बाढीबाट बढी प्रभावित छन् । बाढीका कारण जिल्लाभरमा ३० हजार घरधुरी प्रभावित भएका छन् तर, ग्रामीण क्षेत्रबाट रिपोर्ट आउन सकेको छैन ।
जिल्लाभरमा ६ लाख ८८ हजार २७ जना प्रभावित भएको स्थानीय प्रशासनको अनुमान छ । जस मध्ये १ लाख ६ हजार ९९५ घरधुरीलाई त्रिपाल चाहिने देखिएको प्रशासनले जनाएको छ ।

रुपन्देहीः

बाढी पहिरोले यस वर्ष रुपन्देहीमा भने खासै धेरै क्षति नगरेको स्थानीय प्रशासनले जानकारी दिएको छ । तर, कोटही माईमा एउटा घर तत्कँदा १५ वर्षका किशोरको मृत्यु भएको छ भने उनका बुबाआमा दुबैजना घाइते बनेका छन् ।

बर्दियाः

यस वर्षको बाढीले मध्यपश्चिममा सबैभन्दा धेरै क्षति बर्दिया जिल्लामा भएको छ । बाढीका कारण जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतक ५ जना मध्ये तीनजना बबई नदीको बाढीमा परेका थिए । मृत्यु हुनेमा ठाकुर बाबा नगरपालिका ५ खोनपुरका ६० वर्षीय गोविन्द थारु र बारबर्दिया नगरपालिका १० गन्धर्व टोलका राजेन्द्र थारु छन् । एकजना महिलाको सनाखत हुन सकेको छैन ।

त्यस्तै ठाकुरबाबा नगरपालिका २ मा घरको भित्ता भत्किएर ७० वर्षीय साहुनी थारुको मृत्यु भएको छ । गुलरिया नगरपालिका ३ संगमवस्तीका ५३ वर्षीय बलबहालुर सिंहको घरनजिकै नातामा डुवेर मृत्यु भएको हो ।

बर्दियामा बाढीका कारण ४ जना घाइते छन् । उनीहरुमध्ये एकको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीले कृषि उपजमा क्षति

अविरल वर्षापछि आएको बाढीका कारण पूर्वी तराईका पाँच जिल्लामा करिव ४ अर्ब मूल्य बराबरको कृषि उपजमा क्षति पुगेको छ । क्षेत्रीय कृषि निर्देशनालयको प्रारम्भीक तथ्याङक अनुसार बाढीका कारण झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा ३ अर्ब ९८ करोड ८१ लाख मूल्य बराबरको कृषि उपज नष्ट भएको हो ।

निर्देशनालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार त्यसमध्ये २ अर्ब ५५ करोड मूल्यको धान, ९७ करोड बराबरको माछा र ३१ करोड ६० लाख मूल्य बराबरको तरकारी नष्ट भएको तथ्याङक उपलब्ध भएको छ । उनका अनुसार ३२ हजार ९ सय ९० हेक्टरमा रोपिएको धान, ३ हजार ६ सय ५० हेक्टरको तरकारी र १ हजार १ सय ५० हेक्टर पोखरीमा भएका माछा नष्ट भएको छ । यो प्रारम्भिक तथ्यांक भएकाले अझै बढ्न पनि सक्ने निर्देशनालयले जनाएको छ ।

बाढीले सबै भन्दा बढी सिरहामा १ अर्ब १५ करोड मूल्य बराबरको कृषि उपज क्षति भएको प्रवक्ता उप्रेतीको भनाइ छ । उनका अनुसार सिरहामा १० हजार ८ सय हेक्टरमा लगाएको धान, ५ सय २० हेक्टर पोखरीका माछा, ५ सय ९० हेक्टरको तरकारी खेती, ५ सय ४० हेक्टरको रहर दाल र ४० हेक्टरमा लगाएको मकै खेती नष्ट भएको छ ।

मोरङमा ६७ करोडभन्दा बढीको कृषि उपज क्षति भएको छ । प्रवक्ता उप्रतीका अनुसार विराटनगर महानगरपालिका, कटहरी, जहदा, रंगेली, रतुवामाई, सुनवर्षी, पथरी शनिश्चरे, सुन्दरहरैचा, कानेपोखरी र बुढी गंगा गाउँपालिकामा गरेर ७ हजार ५ सय हेक्टरमा लगाएको धान, १ हजार ५० हेक्टरको तरकारी र १ सय ९५ हेक्टर माछा पोखरी क्षतिग्रस्त भएको छ ।

सुनसरीको इनरुवा, वराहा, रामधुनी, दुहवी, भोक्राहा, गढीमाई, बरजुताल, देवानगञ्ज, हरीनगरा लगायतका स्थानमा रोपिएको ७ हजार १ सय हेक्टरको धान, १ सय ३५ हेक्टरको केरा, २ सय २० हेक्टरको माछा पोखरी र ९ सय ४५ हेक्टरको तरकारी खेती नष्ट हुँदा ६९ करोड ६० लाख बराबरको क्षति पुगेको तथ्याङक छ ।

सप्तरीका साविक ३४ गाविसमा बाढीले कृषि उपजलाई नष्ट गर्दा ५२ करोड ३५ लाख बराबरको क्षति पुगेको प्रबक्ता उप्रेतीले बताए । उनका अनुसार सप्तरीमा ५ सय ९० हेक्टरको धान, १ सय ५० हेक्टरको माछा पोखरी, र ५ सय ५ हेक्टरमा लगाएको तरकारी खेती नष्ट भएको छ ।

निर्देशनालयको तथ्याङक अनुसार झापामा झण्डै एक अर्ब मूल्य बरावरको कृषि उपजलाई क्षति पुगेको छ । त्यहाँ ७ हजार हेक्टरमा लगाएको धान, २ सय हेक्टरको तरकारी खेती, ६५ हेक्टरको माछा पोखरी र एक हेक्टरमा लगाएको रबर खेतीलाई बाढीले क्षति र्पुयाएको प्रबक्ता उप्रेतीले जानकारी दिए ।

पूर्वी तराईका पाँच जिल्ला वाहेक अन्य जिल्लामा बाढीले कृषि उपजमा खासै प्रभाव पारेको छैन । उप्रेतीका अनुसार एकाध पहाडी जिल्लामा पहिरो जाने र तरकारी खेतीलाई सामान्य असर मात्र गरेको पाइएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग डुबानमा

सुनसरी मोरङ औद्योगिक करिडोरका करिब ५ सय उद्योग बाढीका कारण डुबानमा परेका छन् । अधिकांश उद्योग चार दिनदेखि बन्द रहे । उद्योगहरूका उत्पादनसमेत प्रभावित भएको हो । पूर्व क्षेत्रमा शनिबारदेखि विद्युत पनि अवरुद्ध बन्यो ।

डुबानमा परेका उद्योगहरूका गोदाम, मेसिन राखिएका घर, कार्यालयमा पानी पसेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराका अनुसार उद्योगका मेसिन, कच्चा पदार्थ र उत्पादन गरेका तयारी वस्तुमा क्षति भएको छ । अब विद्युत सप्लाई भयो भने बिहीबारबाट उद्योगहरू क्रमशः सञ्चालनमा आउन थाल्नेछन् ।

उस क्षेत्रमा उत्पादन भएका वस्तुलाई बजारसम्म र्पुयाउन बाटो छैन । कच्चा पदार्थ भिजेर कामै नलाग्ने अवस्थामा पुगेको छ । विद्युत आपूर्ति नहुँदा यस क्षेत्रका बैंकहरूसमेत खुल्न सकेका छैनन् । शनिबार बिहानैदेखि अवरुद्ध इन्टरनेट सेवा सोमबार दिउँसोबाट बल्ल सञ्चालनमा आएको थियो । यहाँका अधिकांश पेट्रोल पम्पहरू बन्द छन् ।

मोरङका बूढीगंगा गाउँपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकालगायतका क्षेत्रमा रहेका उद्योगहरू डुबानमा परेका हुन् ।

यसैगरी सुनसरीका इटहरी उपमहानगरपालिका, दुहबी भलुवा नगरपालिकालगायत क्षेत्रका उद्योगहरू पनि बाढीले प्रभावित छन् । खोला छेउछाउमा रहेका उद्योगहरूमा बढी क्षति पुगेको छ ।

बैंकहरूले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा ५० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये मोरङमा ३२ अर्ब र सुनसरीमा १८ अर्ब रहेको छ । उद्योगीहरूको लगानीलाई जोड्दा यो क्षेत्रमा करिब १ खर्बको लगानी औद्योगिक क्षेत्रमा पुग्न जान्छ ।

एक दिन उद्योग बन्द हुँदा यस क्षेत्रका ५ सयभन्दा बढी उद्योगले प्रत्यक्ष २० करोड नोक्सानी व्यहोर्नुपर्छ । त्यसैगरी एक दिनको बन्दले यस क्षेत्रका संगठित तथा असंगठित गरी करिब ३ लाख मजदुरको ज्याला गुम्ने गर्छ । मजदुरले पाउने न्यूनतम ज्यालाको मात्र हिसाब गर्ने हो भने पनि दैनिक १५ करोडको नोक्सानी हुने गरेको छ ।