समाचार

बँदेलको हुलले मकैबारी नष्ट गर्न थालेपछि किसानहरु रातभर ढ्याङ्ग्रो ठटाउँदै बारीमा

भक्तपुर, ३२ साउन । जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राकोे आवाज सुनिन थाल्छ ।

त्रिशूल डाँडामा मान्छेको आवाजसँगै बज्ने ढ्याङ्ग्रोले पाहुना लाग्न त्यस क्षेत्रमा जानेका लागि अनौठो लागे पनि स्थानीयवासीका लागि भने अचेल यसो गर्नु दिनचर्या जस्तै भएको छ ।

बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुसार्नी लगायतका अन्नबाली खान र नष्ट गर्न थालेपछि विगत एक महिनादेखि यहाँका किसानले आफ्नो बालीको रक्षा गर्न रात परेपछि बारीमै गएर यसरी ढ्याङ्ग्रो बजाउने गरेको त्रिशूल डाँडाकी सानुमैया पुरीले बताईन् ।

उनले भनिन्–“ सबै घरका मानिस रात परेपछि छिटो खाना खाएर हातमा ढ्याङ्ग्रो, नाङ्लो, थाल लिएर बारीमा जान्छन् र बँदेललाई लखेट्न बजाउन थाल्छन् ।”

यसवर्ष बँदेलले यहाँका अधिकांश किसानको मकैबाली नष्ट गरेको छ । बँदेलले मकैबाली नष्ट गरेपछि केही किसानले बचेका हरिया मकै घरमा लान थालेको छन् ।
हुलमा आउँने बँदेलले मकैको बोट भाँचेर घोगा मात्रै खाने गरेको बताउँदै पुरीले भनिन्–“बँदेलले खाएर बाँकी रहेका हरिया मकै र छरिएका मकैका गेडा टिपेर घर लैजाने गरेका छौ ।”
बँदेलले अदुवा, खोर्सानी, बेसार, पिडालु, बदाम र कोदोको बोट लगायत कृषि बाली नष्ट गरेको बेदना पोख्दै स्थानीय सुनिता पुरीले यहाँका अधिकांश किसानको अन्न बाली बँदेलले नष्ट गर्न थालेको छ भनिन् ।
स्थानीय रामबाबु थापाले बँदेल लखेट्न किसानले राती १ बजेसम्म बारीमा बसेर ढ्याङ्ग्रो ठटाए पनि मान्छे नभएको मौकामा एकै पटक ५०–६० वटा बँदेलको हुलले मकै नष्ट गर्ने गरेको बताए ।
स्थानीय राजकुमार नगरकोटीले गतवर्षदेखि बँदेलले दुःख दिन थालेको बताउँदै बँदेलले मकै मात्रै नभई जेठमा गहुँ र मंसिरमा धान समेत नष्ट गर्ने गरेको छ भने ।
यता सूर्यविनायक नगरपालिकाको काँक्राबारी, आशापुरी, नैचाल र सिपाडोलको ठूलोबस्तीमा पनि बँदेल तथा मृगले मकै, सिमी, काँक्रो लगायतका बाली नष्ट गरेको छ ।
“वर्षदिनसम्म खाने अन्नबाली बँदेलले खाएपछि अब कसरी बाच्नु ?”–सूर्यविनायक नगरपालिका ८, सिपाडोल काँक्राबारीका अर्जुन लामाले भने । आशापुरीका कान्छा तामाङले बँदेलले बाली नष्ट गरेको बारेमा जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयलाई जानकारी गराएपछि समस्या समाधानको उपाय भने नगरेको बताए ।
जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले गतवर्षदेखि नै बँदेलले जिल्लाका बिभिन्न ठाउँमा कृषि बाली नष्ट गरेको गुनासो र उजुरी आए पनि कार्यालयले क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सञ्जीव आचार्यले बँदेलले बाली नष्ट गरे क्षतिपूर्ति दिने व्यवस्था ऐनमा नभएको तर मानीवय क्षति भए मात्रै क्षतिपूर्ती दिने व्यबस्था गरेको बताए ।