पर्यटन/संस्कृति

मौसमका कारण लुक्लाबाट बिमान उडेनन्, ८ दिनदेखि यात्रु अलपत्र

काठमाण्डौ, ३२ साउन । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसमप्रतिकुल हुँदा एकसात यतादेखि हवाइ उडान हुन सकेको छैन । नियमित उडान नहुँदा पर्यटक रोकिएका छन् ।

बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए ।

तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसममा दैनिक चार,पाँच वटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प छ । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकोप्टर मगाएर राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । जिल्लाको अर्काे विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।