समाचार

चिनियाँ उपप्रधानमन्त्री वाङले आज राष्ट्रपति र प्रधानमन्त्रीसंग शिष्टचार भेट गर्ने

काठमाण्डौ, ३२ साउन । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवासँग आज शिष्टाचार भेट गर्दैछन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री देउवासंग बालुवाटारमा भेट गर्ने वाङले अपरान्ह ४ बजे राष्ट्रपति भण्डारीसँग शितल निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । वाङको भ्रमणका क्रममा नेपाल र चीनबीच हिजो विभिन्न सहयोग सम्बन्धी ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै पछिल्लो समय मुलुकमा देखा परेको बाढी पहिरोको विपदका लागि चीनले १० करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिसंगको भेट अघि उपप्रधानमन्त्री वाङले विभिन्न क्षेत्रका व्यक्तित्वसंग अनौपचारिक भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।