आर्थिक

लगातारको बर्षाले प्रभावित बनेको बैंकिङ सेवा आजदेखि नियमित बन्दै

काठमाण्डौ, ३१ साउन । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज) देखि नियमित सेवा दिने बताएका छन् ।

निरन्तर वर्षाले तराइको क्षेत्र जलमग्न हुनुका साथै विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध हुदा वित्तिय सेवासमेत प्रभावित बनेको थियो । बैंक तथा वित्तीय संस्थाले आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनुपरेको खण्डमा सक्ने अवस्था थिएन ।

पूर्वी तराईमा कृषि विकास बैंकका केही शाखाहरूले सेवा प्रदान गर्न नसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए । उनले भने “बैंकको काउन्टरमा पानी पसेको छ भने केहीको ढुकुटी नै अन्यत्र सार्नुपरेको अवस्था छ,” उनले भने, “विराटनगर शाखाबाट पैसा नै सार्नुपरेको छ ।” त्यसैगरी पश्चिम तराईमा पनि केही शाखाले सेवा दिन नसकेको उनले बताए । विद्युत आपूर्ति अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ । बिस्तारै वर्षामा कमी आएको खण्डमा नियमित सेवा दिन सकिने उनले बताए ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बाढीका कारण समग्र तराई नै समस्यामा परेको अवस्थामा बैंकिङ सेवा पनि प्रभावित हुनु स्वाभाविक भएको बताए । आइतबार तराईमा बैंकिङ कारोबार नभएको बताउँदै पण्डितले भने, “बैंकहरूका शाखामा समस्या आएको खण्डमा तत्कालका लागि अर्काे विकल्प छैन ।”

एक दिन बैंकिङ कारोबार नहुँदा पनि ठूलो समस्या नआउने भएकाले आजको भोलि नै बैंकिङ सेवाको विकल्प नभएको उनको तर्क छ । वर्षा कम हँुदै गएको हुनाले सावक रुपमा बैंकिङ सेवा उपलब्ध हुन सक्ने सम्भावना रहेको पण्डितले बताए । तराईको बाढीका कारण बैंक तथा वित्तीय क्षेत्रमा कति असर गरेको छ भन्ने पूर्ण विवरण आईनसकेको उनको भनाइ छ ।

शुक्रबारदेखिको वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दा आदिमा व्यापक क्षति पुगेको छ ।