समाचार

गृहमन्त्रीद्वारा विमानस्थलको निरीक्षण : राहत वितरण प्रक्रिया चुस्त बनाउन निर्देशन !

काठमाण्डौ, ३१ साउन । गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पुर्याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ भन्नेबारेमा स्थलगत निरीक्षण गरेका हुन् ।

रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिएका उनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सो निरक्षणका क्रममा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गरे ।
गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतको सहभागिता थियो ।

आइतबार र सोमबार गृहमन्त्री शर्मालगायतको टोलीले पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।