समाचार

गोरखामा सेना जुटे स्वास्थ्य शिबिरमा, महिलाद्वारा तीज मेलाको आयोजना, उठेको पैसा बाढीपीडितलाई !

गोरखा, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखामा ५ दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । गोरखाको गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा हिजो सोमबारदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो ।

‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाली सेना र अमेरिकी सेनाका विशेषज्ञ डाक्टर शिविरमा आइपुगेका हुन् । शिविरमा विभिन्न रोग हेर्ने नेपाली सेनाका ११ जना र अमेरिकी सेनाका ३१ जना डाक्टरले सेवाग्राहीको उपचार गर्दै आएका छन् ।

बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवा शिविरमा रहेको गोरखास्थित रणसिंहदल गणका सेनानी मनोज खड्काले जानकारी दिए । आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामी शिविरमा धेरै आएका छन् । शिविरमा डाक्टरबाहेक नेपाली सेनाका सुरक्षा टोली पनि परिचालन गरिएको छ । शिविरस्थल सरस्वती माविको मैदान स्तरोन्नति गर्नुका साथै भवन मर्मत, रङ्गरोगन, वायरिङलगायत कार्यहरु पनि गरिएको छ । शिविरको पहिलो दिन सोमबार दुई सय जनाभन्दा बढीले सेवा लिएका छन् ।
तीज मेलाको पैसा बाढीपीडितलाई
यसैबीच, गोरखा उद्योग वाणिज्य सङ्घ, महिला उद्यमी विकास समितिले गोरखा सदरमुकामको रानीपोखरी परिसरमा गरेको तीनदिने तेस्रो तीजमेलामा टिकटबाट संकलन भएको पैसा बाढीपीडितलाई उपलब्ध गराइने भएको छ ।

साउन २८ देखि ३० गतेसम्म चलेको तीज मेलामा २० वटा कक्ष रहेका थिए भने तीज गीत र नृत्य, नौकाविहार, माध्यमिक तहस्तरीय विद्यार्थीबीच नृत्य प्रतियोगिता रहेका थिए । महिलाले दर खाने कार्यक्रम पनि थियो । तीज मेलामा कति पैसा संकलन भएको छ भन्नेबारे एक÷दुई दिनभित्र थाहा हुने समितिले जनाएको छ ।