मनोरञ्जन

क्यानाडामा दुई नेपाली चलचित्र सम्मानित

काठमाडौँ, ३१ साउन । क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् ।

‘हेभन इज ब्ल्याक’का निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गरेका हुन् । टोरन्टो नेपाली फिल्म फेस्टिबल आयोजक समितिले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष सुवर्ण थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । पहिलो चलचित्रले एक हजार ५०० क्यानाडियन डलर तथा प्रमाणपत्र र ड्याडाले ५०० क्यानाडियन डलर पाएका थिए ।

मेलामा १४ नेपाली चलचित्र देखाइएकामा ती दुई उत्कृष्ट ठहरिएका थिए । गत अप्रिलमा सम्पन्न सो मेलामा नेपाली म्युजिक भिडियो, नेपालको कला, संस्कृति तथा नेपाली समाजको जल्दाबल्दा समस्यालाई केन्द्रित गरी तयार गरिएका चलचित्र प्रदर्शन गरिएको थियो ।

सो अवसरमा निर्णायक मण्डलका अध्यक्ष थापाले नेपाली चलचित्रको प्रदर्शनबाट नेपालको संस्कृति तथा कलाको विश्वमा प्रचार गर्न सघाउ पुगेको बताए । टोरन्टो नेपाली फिल्म फेस्टिबल २०१७ का संयोजक संगम पुलामी मगरले नेपालको चलचित्र विदेशीले पनि रुचाएको बताए ।