समाचार

बाढी र पहिरोमा परेर एक सय जनाको मृत्यु, दश गजामा ७ वटा शव फेला !

काठमाण्डौ, ३१ साउन । देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । २ हजार ८ सय ४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७ सय २७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

मनसुन सामान्य बनेसंगै सोमबारदेखि राहत वितरणको कार्य तिब्र भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजालगायत अति आवस्यकिय कुरा खानेपानी, जीवनजल र सिटामोल समेत वितरण गरिएको छ ।

दशगजामा ७ जनाको शव फेला
मोरङको सीमावर्ती भारतीय बजार जोगबनी नजिक दशगजा क्षेत्रमा ७ जनाको शव फेला परेको छ । चारजना पुरुष र तीनजना महिलाको शव भेटिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढीले बगाएर उनीहरुलाई त्यहाँ र्पुयाएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन नसकेको उल्लेख गर्दै प्रहरीले सीमावर्ती नेपाली बस्तीमा सोधखोज गरी पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।
मोरङमा बाढीमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ४ जना बेपत्ता भएका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार पूर्वाञ्चलमा बाढीपहिरोमा परी मृत्यु भएकाको संख्या ४४ पुगेको छ ।

झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् ।

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एएटा बच्चा छन् । बाढीका कारण प्रभावित परिवार दुई हजार १९ र विस्थापित परिवार एक हजार ८९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ ।